महोत्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको सेवामा केन्द्रित हुन आफ्ना दलबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिलाई निर्देशन दिनुभएको छ । महोत्तरीको जलेश्वरमा यसपालि सम्पन्न स्थानीय तहमा आफ्नो दलबाट निर्वाचित जनप्रतिनिधिलाई आज बधाई र शुभकामना व्यक्त गर्दै अध्यक्ष यादवले जनप्रतिनिधिको कार्यकाल जनताको सेवामा समर्पित हुन निर्देशन दिनुभएको हो ।

“तपाईंहरूलाई जनताले मनभरिको विश्वास दिएका छन्, इमान र निष्ठाले जनताको विश्वास मर्न नदिनोस्,” अध्यक्ष यादवले भन्नुभयो, “चुनाव जितेपछि शासक बन्ने रोग छ, त्यहाँ सचेत हुनुहोस् ।” जनअपेक्षा पूरा गर्न तपाईं के गर्दै हुनुहुन्छ, जनताले सूक्ष्म निगरानी गरिरहेका हुने अध्यक्ष यादवको भनाइ थियो । अध्यक्ष यादवले नवनिर्वाचित जनप्रतिनिधि (नगरपालिकाका प्रमुख÷उपप्रमुख, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र वडाअध्यक्ष) लाई अबिर टीका र माला लगाइदिँदै सम्मान गर्नुभयो ।

मधेसमा जसपाको विभाजनले चुनावी परिणाममा असर गरेको यादवको स्वीकारोक्ति छ । विगतमा भएका कमीकमजोरीको समीक्षा गर्दै अघि बढ्न आवश्यक भएको यादवले बताउनुभयो । आफ्नै दल (जसपा) बाट विभाजित भएको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोकतान्त्रिक गठबन्धनमा सहभागी भए स्वागत गर्ने यादवको भनाइ छ । मधेसको मत बाँडिएपछि मधेसलाई नोक्सान हुने गरेको उल्लेख गर्दै उहाँले अब फुटेर नभई जुटेर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष यादवले संसद्बाट नागरिकता विधेयक पारित गर्ने र नागरिकताविहीनलाई नागरिकता दिँदै अबको चुनावमा मतदाता सूचीमा नाम राखिने बताउनुभयो ।

महोत्तरीका १५ स्थानीय तहमध्ये जसपाबाट जिल्ला सदरमुकाम जलेश्वर र गौशाला नगरपालिकामा प्रमुख/उपप्रमुख एवम् सम्सी, एकडारा र पिपरा गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष र महोत्तरी गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भएका छन् । त्यसैगरी जिल्लाका १३८ वडामध्ये ३० वडामा जीत हात पारेको छ ।