वीरगञ्ज – अनैतिक क्रियाकलापमा संलग्न भएको विषयलाई लिएर पर्सामा भिनाजुले सालोको हत्या गरेका छन्।

पर्साको जगरनाथपुर गाउँपालिका–६ निवासी हिरामन महराले आफ्ना परिवारका पाँच जना सदस्यसित मिलेर सालो राजेश रामको हत्या गरेका हुन्।

पर्साको बहुदरमाई नगरपालिका–२ सिसियाडी टोल बस्ने रामको शव जेठ २८ गते जगरनाथपुर गाउँपालिका–६ स्थित नारा खोलाको खोल्साभित्र घाँटीमा गम्छा कसिएको अवस्थामा फेलापरेको थियो।

प्रहरीका अनुसार अनुसन्धान गर्नेक्रममा मृतक राम आफ्ना दिदी–भिनाजुको घर जगरनाथपुर गाउँपालिका–६ मा गइ बस्दै आएको खुलेको छ। अनुसन्धानको क्रममा २८ गते रामका भिनाजु हिरामन महरा र उनका भाइसहित पाँच जना जना परिवारका सदस्य मिली अनैतिक क्रियाकलापमा सलंग्न भएको विषय लिएर घाँटी कसी हत्या गरेको खुल्न आएको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।

रामको हत्या गरेको अभियोगमा उनका भिनाजु महरासहित उनको परिवारका सदस्य रामबालक महरा, बसन्ती देवी, सुनिता देवी र रिंकु देवीलाई पक्राउ गरिएको खनालले बताए।

पकाउ परेका पाँचै जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट सात दिनको म्याद थप गराइ अनुसन्धान अघि बढाइएको उनले बताए।