जनकपुरधाम । गुठी संस्थान अन्तरगतको बेला कुटी जग्गाको अतिक्रमण हटाउन माग गरिरहेका स्थानीयहरुले जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि चप्पल प्रहार गरेका छन् ।

उपमहानगरका मेयर मनोज कुमार साहलाई ज्ञापनपत्र बुझाउन पुगेका स्थानीयहरुले उपमेयर साहलाई आइतबार बुझाए ।

उपमहानगरपालिकाको वडा नम्बर २३ लादोबेलाका स्थानीयलाई उपमेयर साहले जनाएको प्रतिक्रियापछि आक्रमण गरिएको थियो । प्रमुख साह कार्यालयमा नभेटिएपछि उपप्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझिसकेपछि आफ्नो धारणा राख्दै साहले, ‘हामी कसैको घर उजाड्न होइन, बनाउन आएका छौं’ भनेपछि जनता आक्रोशित बनेका थिए । आक्रोशित सर्वसधारणको भीडले उनीमाथि चप्पल प्रहार गरेका थिए ।

धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले आक्रमण नभएको बताए । ‘हो–हल्ला मात्रै भएको थियो’ उनले भने, उपप्रमुख बोल्ने क्रममा एकजना महिलाले उनीमाथि चप्पल प्रहार गर्न खोजेकी थिइन् । अन्य व्यक्तिहरु पनि अपशब्द बोल्दै उनीमाथि आक्रमणको प्रयास गरेका थिए ।

उपमेयर साहले ज्ञापनपत्र बुझेर फर्किन लागेपछि केही व्यक्तिले हो– हल्ला गरेको बताए । ‘गुठीको अधिनमा रहेको जग्गा उपमहानगरको कार्यक्षेत्र भित्र पर्दैन्’ उनले भने, बस्ती बसेको जग्गालाई डोजर लगाएर खाली गराउने काम उपमहानगरपालिकाको होइन् ।

‘हामी बस्ती बसाउन आएका छौ’ उनले भने, बस्ती उजाड्ने काम आफ्नो होइन् । केही व्यक्तिले अभद्रता देखाएको उल्लेख गर्दै उनले भने, ज्ञापनपत्र बुझेर आफ्ना धारणा राखेपछि गरिएको व्यवहार खेदजनक छ ।

केही समय प्रहरी र ज्ञापनपत्र बुझाउन आएका सर्वसधारणबीच घम्साघम्सी भएको थियो । नगर प्रहरी र नेपाल प्रहरीले भने साहलाई सुरक्षा दिएका थिए ।

प्रहरीको सहयोगमा उपप्रमुख साह सुरक्षित ठाउँमा पुगेपछि बाहिर उनीहरु नाराबाजी गर्दै गुठी संस्थान गएका थिए । लुटेरा गुठी संस्थान, हाम्रो जग्गा फिर्ता गर, सरकार आतंकवादी हटाउ, बेला कुट्टी बचाउ, बेला कुट्टीमा बस्ने आतंकवादी मुर्दावाद र हाम्रो वडाध्यक्षको ज्यान खतरामा रहेको लगायतको नाराबाजी गरेका थिए ।

उनीहरुले नारा अनुसारकै प्लेकार्ड पनि बोकेका थिए । वडा नम्बर २३ का वडाध्यक्ष राघवेन्द्र प्रसाद साहको नेतृत्वमा रहेको प्रदर्शनकारीहरुले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जनकपुरधाम उपमहानगरपालिका र गुठी संस्थान जनकपुरमा ज्ञापनपत्र बुझाएका छन् ।

गुठी र दाताहरुले रामजानकी दुल्हा भगवान कुट्टीलाई प्रदान गरेको १७ बिघा १५ कठ्ठा जग्गा अतिक्रमणसँगै खरिद बिक्रि हुने गरेको वडाअध्यक्ष साहले जनाए । केही दिनदेखि वडाध्यक्ष साह त्यहाँको अतिक्रमण गरेको भनिएको जग्गा खाली गराउन अभियानमा लागेकाछन् ।

अतिक्रमित जग्गा खाली गराउन पुग्दा उनीमाथि पनि आक्रमणको प्रयास भएको थियो । गुठी संस्थान मातहतको सो गुठीको जग्गामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता समेत रहेका रौतहट जिल्लाका सांसद अनिल कुमार झा, ब्राम्हण सभा, जनकपुर बस व्यवसायी संघ लगायत सर्वसधारणहरुले भोग गरिरहेका छन् ।

केहीलाई गुठी संस्थानले पाँच वर्षको बहालमा जग्गा उपलब्ध गराएको बताइन्छ । तर कतिपयले मन्दिरका पुजारीबाट नै खरिद गरेको बताइन्छ । जनकपुरधामको जिरोमाईलसँगै रहेको सो जग्गाबाट केही जग्गा जिल्ला ट्राफिक कार्यालयको भवन निर्माणका लागि समेत खरिद गरिएको बताइन्छ ।

वडा अध्यक्ष साहले चुनाव अगावै गुठीको जग्गा अतिक्रमण मुक्त गराउने प्रतिबद्धता जनाएका थिए । गुठीको जग्गाबाट अतिक्रमण हटाउन गत महिना बृहत् छलफल गरिएको थियो ।

अतिक्रमण हटाउन सामूहिक रुपमा निर्णय भए पनि जग्गा भोग गरिरहेकाहरुले खाली नगर्ने अडानमा रहेका छन् । जग्गाको पूर्ण स्वामित्व गुठी संस्थान अन्तरगत नै रहे पनि जग्गा व्यक्ति– व्यक्तिबाट बेचबिखन समेत भइरहेको बताइन्छ ।

मन्दिरका पुजारीले नै जग्गा बेच्ने गरेको समेत आरोप लागेको छ । स्थानीय बासिन्दाहरुले जग्गाको अतिक्रमण हटाउन गरिएको प्रदर्शनमा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । जिरोमाईलबाट सुरु भएको जुलुस जनकपुरधामको मुख्य चोकहरुको परिक्रमागर्दै ज्ञापनपत्र बुझाएको थियो ।

जनकपुरधाम उपमहानगरपालिकामा तनाव भए बाहेक अन्यत्र सामान्य रुपमा नै ज्ञापनपत्र बुझाउने काम भएको बताइएको छ ।जनकपुर टुडेे