जनकपुरधाम : मधेश प्रदेश सरकारकी  गृह तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्णले निष्पक्ष पत्रकारिता अहिलेको आवश्यकता रहेकोले  स्वतन्त्रतापूर्वक कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह गरेकी छन् ।

राजविराजमा आमसञ्चार प्राधिकरणले शुक्रवार  आयोजना गरेको ५ पाँच दिवशीय अनलाइन पत्रकारिता सम्बन्धी तालिमको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएकी छन् ।

मुलुकमा आएका परिवर्तनहरुमा सञ्चारकर्मीको ठुलो योगदान रहेको स्मरण गर्दै राज्यमन्त्री कर्णले राजनीतिक आस्था र विचारलाई थाति राखेर कलम चलाउन सके मात्र देश र जनताले राहत पाउने स्पष्ट गरिन ।

कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले अनलाइन पत्रकारितालाई व्यवस्थित र प्रभावकारी बनाउन तालिमको आयोजना गरिएको बताए । ‘तालिमको अभावले अहिले सामाजिक सञ्जालदेखि युटुव च्यानलसम्ममा जथाभावी सूचनाहरु प्रशारण हुँदै आएको छ’ उनले भने ‘यसले सिंगो पत्रकारिताक्षेत्र प्रति नै नकारात्मक दृष्टिकोण बढ्दै गएको छ, यी कुरालाई नै लक्षित गरी हामीले अनलाइन पत्रकारिता तालिमको आयोजना गर्यौं ।’

सो तालिममा प्रदेशका विभिन्न जिल्ला गरी २७ जना सहभागी रहेको उनले बताए । अध्यक्ष यादवकै अध्यक्षता आयोजित उद्घाटन कार्यक्रममा मिडिया काउन्सिलका अध्यक्ष शिवहरी प्रसाद भट्टराई ,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह, महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, पुर्व अध्यक्षद्वय धिरेन्द्र प्रसाद साह र वैधनाथ यादव लगायतले बोलेका थिए ।

प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंहले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन मधेशलाइभ अनलाइनका सम्पादक प्रिया सिंह थारुले गरेकी थिइन ।