जनकपुरधाम । सावनले चमत्कार असाढमै गाउँ सभा, धनौजी गापाबासी हर्षित भएका छन् ।

धनुषाको धनौजी गाउँपालिका गठन भएपछि विवादमै चुलिदै आएको थियो ।

समयमा जनताको काम हुन नसक्नु र जनतालाई प्रत्यक्ष फाइदा पुग्ने गरी कुनै योजनाहरु ल्याइएको थिएन् । मात्रै कार्यकर्ता भर्ती केन्द्रको रुपमा रहेको र कार्यकर्ता पालन पोषण गर्नकालागि विकास निर्माणका योजनाहरु ल्याउनमा माहिर मानिने धनौजी गाउँपालिका अहिले प्रशासनीक रुपमा आफ्नो अनुहार फेर्दै गएको छ ।

भनिन्छ प्रशासनका कर्मचारी इमान्दार भए नत कुनै राजनीतिककर्मीले चु बोल्न सक्छ नत कसैले अगुंलीनै हेराउन सक्छ । त्यो नै भएको छ धनौजी गाउँपालिकामा । धनौजी गाउँपालिकाले पहिलो पटक आर्थिक बर्ष २०७९÷०८० को बजेट समयमा ल्याउन सकेका छन् ।

राजनीतिकर्मी तथा जनप्रतिनिधिहरुको आ–आफ्नो स्वार्थका कारण विगतमा कुनै आर्थिक बर्षको पारदर्शी रुपमा गाउँ सभा हुन सकेको थिएन् । कहिले मेयर उप–मेयरको विवाद त कहिले वडाध्यक्ष मेयरको विवादका कारण गाउँ सभा समयमा हुन सकेको थिएन जस कारण सशर्त अनुदान लगायतका सेवा सुविधावाट गाउँपालिका बञ्चित हुँदै गएको थियो ।

आउने वजेट समेत आउन नसक्दा गाउँपालिकाको बजेटले मात्रै त्यहाँको कामहरु हुँदै आएको थियो तर, यस बर्ष समयमा सभा सम्पन्न भएपछि बजेटहरु आउने बाटो प्रसस्त भएको छ । धनुषाको धनौजी गाउँपालिकाले पछिल्लो साढे चार वर्षमा पहिलो पटक समयमै गाउँ सभा सम्पन्न गरेको छ ।

यस अघिका जनप्रतिनिधी र कार्यालय प्रमुख बीचको विवादका कारण असार १० गते भित्रै गाउँसभा सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था रहेपनि समयमै सम्पन्न गर्न सकेको थिएन । जसले गर्दा गाउँपालिकाका विकास निर्माणका कामहरु प्रभावित हुँदै आएको थियो ।

गत वर्ष साउनमा गाउँपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत सावन चौधरीको सक्रियतामा यसवर्ष समयमै गाउँसभा सम्पन्न भएको छ । असार १० गते गाउँपालिकामा आयोजित सभाबाट अगामी आर्थिक वर्ष २०७९÷०८०कालागि ३२ करोड ९० लाख बजेट ल्याएको छ ।

असार १० गते नै नीति तथा कार्यक्रम र बजेट पारित गर्न गाउँपालिका सफल भएको हो । विगत चार वर्षदेखि धनौजीमा नीति तथा कार्यक्रम र बजेटका विषयमा विवादका कारण सभा सम्पन्न हुन सकेको थिएन् ।

धनौजीको विकासका लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि तथा रोजगारलाई केन्द्रित गरेर बजेट ल्याईएको प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी दिएका छन् । कार्यापालिकाको बैठकमा नीति तथा कार्यक्रममा समावेश गर्ने विषयमा प्रतिनिधिका बीचमा सहमति कायम नहुँदा गत आर्थिक वर्षको सभा हुन सकेको थिएन् । गत वर्ष असार १० गते भित्र गर्नु पर्ने सभा साउनमा कार्यालयमा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत चौधरीले प्रतिनिधिहरुलाई सहमति गराएर असोज २५ गते सभा सम्पन्न गराएका थिए ।

सरकारको निर्देशन अनुसार पछिल्लो चार वर्षदेखि धनौजीको नीति तथा कार्याक्रम र बजेट समयमै आउन नसक्दा कार्यपालिकाको कामकाज प्रभावित हुँदै आएको थियो, प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने–‘अगामी आर्थिक वर्ष २०७९÷०८० को लागि ३२ करोड ९० लाख बजेट ल्याएका छौं ।’ जनप्रतिनिधि तथा कर्मचारीहरुको अथक प्रयास पछि पहिलो पटक धनौजीले समयमै बजेट ल्याउन सफल भएको छ ।

असार १० गते आयोजित गाउँसभामा धनौजी गाउँपालिकाका अध्यक्ष राज कुमार साह, उपाध्यक्ष रामवती मण्डल सहित ५ वटै वडा अध्यक्ष, वडा सदस्य तथा जनप्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो । वडा स्तरबाट आएका योजनालाई प्राथमिकताका साथ अगाडि ल्याउने अध्यक्ष साहले प्रतिवद्धता व्यक्त गरे ।

विवादले गाउँपालिकाको सवै काम लथालिंग भएको थियो, अधिकृत चौधरीले भने ‘समयमै गाउँसभा सम्पन्न भएपछि विकास निर्माण र सरकारी सेवा सुविधा प्रवाह गर्न सहज हुने छ ।’ विगतमा बजेट नै पास नभएपछि आर्थिक ऐन पारित हुन नसक्दा काम गर्न समस्या हुँदै आएको थियो ।

तर यस वर्ष त्यो समस्या समाप्त भएको छ । गाउँपालिकाले जनमुखि बजेट ल्याएको छ । जनतालाई विकासको अनुभूति दिलाउन गाउँपालिका निरन्तर सक्रिय छ, अधिकृत चौधरीले बताए ।

तर, समयमा गाउँ सभा नहोस भन्नेहरु अहिले प्रमुख प्रशासकीय अधिकृत चौधरीमाथि जाइ लागेका छन् । उनी विरुद्ध विभिन्न प्रकारका षडयन्त्रहरु शुरु गरेका छन् । उनी विरुद्ध मिडियाबाजी देखि लिएर उनको जरो खन्नमा व्यस्त भएका छन् । तर, उनी भन्छन्–‘प्रमुख प्रशासकीय अधिकृतको हौसियतले मैले आफ्नो दायित्व निर्वाह गरे । बुझ्ने यहाँका गाउँका जनता हो ।

जनप्रतिनिध हो । उनीहरु मेरो कामवाट खुश छन् विरोध गर्ने त जहाँ पनि भईहाल्छ ।’ यस पटक समयमा गाउँ सभा सम्पन्न भएपछि किन समयमा गाउँ सभा सम्पन्न भयो भनेर विरोधीहरुलाई जवाफ दिनकालागि प्रमुख प्रशासकीय अधिकृतले भने–‘आगामी आर्थिक बर्ष देखी असाढे विकासलाई पनि निस्तेज पार्छौ र असाढ भन्दा पहिलानै योजनाहरुलाई मुर्त रुप दिन्छौं ।’

प्रमुख प्रशासकीय अधिकृत चौधरीको कार्यकौशलताको अहिले धनौजी गाउँपालिकामा मात्रै नभई धनुषा जिल्लामानै चर्चाको विषय बनेको छ । चौधरी उमेरले परिपक्व नभएपनि कार्यकौशलताले परिपक्व भएको स्थानीयबासीहरुको बुझाई छ ।