काठमाडौँ : ‘युवाका दृष्टिमा संस्कृति’ विषयक राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा त्रिभुवन विश्वविद्यालयकी छात्रा प्रतिक्षा जोशी प्रथम हुनुभएको छ ।

दया फाउण्डेशन, रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल–भूटान) र बसुन्धरास्थित साउथवेष्टर्न इन्टरनेशनल कलेजले आयोजना गरेको सो प्रतियोगितामा बुढानिलकण्ठ स्कुलकी दीक्षा उपाध्याय द्वितीय, सिड फाइनान्सियल एकेडेमीकी प्रेरणा थापा तृतीय, साउथवेष्टर्न इन्टरनेशनल कलेजकी सहारा सुवेदी चतुर्थ र साउथवेष्टर्न इन्टरनेशनल कलेजकै अश्विन अधिकारी सान्त्वना पुरस्कारबाट पुरस्कृत हुनुभयो ।

उहाँहरूलाई क्रमश : रु ३०, २०, १० र तीन/तीन हजार राशिको पुरस्कार प्रदान गरियो । सो पुरस्कार नेपालका लागि अष्ट्रेलियाका राजदूत फ्यालिसिटी भोल्क, संस्कृति विज्ञ दिनेश मानन्धर र युनेस्कोका नेपाल प्रतिनिधि माइकेल क्रोफ्टसहितले प्रदान गर्नुभयो । उहाँहरूले नेपालको सांस्कृतिक विविधता, विशेषता र सार्वजनिक भाषण र सञ्चारको महत्वबारे प्रवचन दिनुभएको थियो ।

कलेजका प्रिन्सिपल डा राजेन्द्र केसीले नेपालको सांस्कृतिक वैभवबारे युवामा जागरण ल्याउन प्रतियोगिता सार्थक भएको बताउनुभयो ।

फाउण्डेशनका संस्थापक सदस्य निभा प्रधानका अनुसार देशभरका ४६ कलेजका ९४ विद्यार्थी सहभागी प्रतियोगितामा उत्कृष्ठ १६ बाट निर्णायक मण्डलले विजेता छनोट गरिएको हो ।