महोत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं.-४ मा असारे विकासको नमूना अन्तर्गत नाम मात्रकै काम गरेर एक करोड रुपैया स्वाहाः गरेको तथ्य फेला परेको छ ।

अनियमितता, दुरुपयोग र भ्रष्टाचारको विभिन्न मुद्दाका कारण सधैं चर्चामा रहने गरेको मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/०७९ को अन्त्य हुन लाग्दा असार १३ गतेका दिन सम्झौता गरेर महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाको वडा नं.-४ हलखोरी गाउँमा ५०/५० लाखको दुई वटा ग्राभेल माटोको योजना हालेर मापदण्ड बमोजिम कामै नगरी लाखौको अनियमितता गरेको स्थानिय रामदेव रायले आरोप लगाउनु भएको छ ।

स्थानीय राघवेन्द्र यादव उपभोक्ता समितिको अध्यक्ष रहेको योजना (हलखोरी गाउँको विद्यालयदेखि एकडारा) गाउँसम्म जाने बाटोमा ५० लाख र स्थानीय मनिष यादव उपभोक्ता समितिको अध्यक्ष रहेको योजना (हलखोरी गाउँदेखि पर्सा) गाउँसम्म जाने बाटोमा ५० लाख गरी १ करोड रुपैयाको ग्राभेल र माटोको काम गर्नुपर्नेमा नाम मात्रैको काम गरेर सबै पैसा खाइदिएको आरोप स्थानीय सुशिल रायले लगाउनुभयो ।

दुवै योजना अन्तर्गत जम्मा ३६०० मिटरमा ६ ईन्च ग्राभेल माटो हाल्नुपर्नेमा हलखोरी गाउँभरि आधा ईन्च, एक ईन्च, दुई ईन्च त्यस्तै कुनै कुनै स्थानमा तीन इन्च मात्रै ग्राभेल हालिएको आफ्नै हातले उखेलेर देखाउँदै स्थानीय मोहन रायले दुवै योजनामा ठूलो आर्थिक अनियमितता गर्न लागिएको बताउँदै सम्बन्धित निकायलाई त्यस कामको भूक्तानी नगर्न आग्रह गर्नुभयो ।

साथै भूक्तानी गरिएमा आफूहरु मधेश प्रदेशको विरुद्ध आन्दोलन गर्ने, पालिकामा तालाबन्दी गर्ने लगायतका चेतावनी पनि दिनुभयो ।

त्यस्तै स्थानिय रामनाथ यादवले यस योजनाको कुनै स्थानमा होर्डिङ्ग बोर्ड समेत नहालिएको, राति राति स्थानीयहरु सुतिरहेको अवस्थामा ग्राभेल माटो हालेको र मापदण्ड बमोजिम काम नगरेको आरोप लगाउनुभयो ।

उहाँले हलखोरी गाउँमा आधा, एक इनच र दुई दिन ईन्चसम्म ग्राभेल गरिएपनि गाउँ बाहिर त्यति पनि नहालेर कामै नगरी पैसा पचाउन लागिएको थप्नुभयो । उहाँले यी दुवै योजनाको तत्काल मधेश प्रदेश सरकार, एकडारा गाउँपालिका, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहित सम्बन्धित निकायले स्थलगत अनुगमन निरीक्षण गरी यस कामको भूक्तानी नदिन आग्रह गर्नुभयो । र उहाँले पनि यदि यस कामको भूक्तानी भएमा हलखोरी गाउँका जनताहरु आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

स्थानीय लक्ष्मी यादवले हलखोरीमा सञ्चालन गरिएको एक करोडको योजनामा बढीमा २०/२५ लाख रुपैयाको ग्राभेल माटो हालिएको, कुनै कुनै स्थानमा त पूरानै ग्राभेल माटो रहेको र कुनै कुनै स्थानमा एक थोपा पनि नहालेरै बाँकी ७०/८० लाख रकम नेता र कार्यकर्ता पाल्नका लागि फर्जी मुल्याँकन गरेर भ्रष्टाचार गर्न लागिएको आरोप लगाउनुभयो ।

स्थानीय लालु राय र राजकरण राय लगायतका व्यक्तिहरुले हलखोरीमा सञ्चालित ग्राभेल माटोको योजनाको ईन्जिनियर रोहित कुमार झाले मापदण्ड विपरित प्रत्येक स्थानमा ३, ४,५ र ६ ईन्चसम्म नापी गरिरहँदा स्थानीयहरुले विरोध गरेको तर ईन्जिनियरले कसैको कुरा नसुनेर मनोमानी गर्दै उपभोक्ता समिति र ठेकेदारलाई भ्रष्टाचार गर्नमा सघाएको आरोप लगाउनुभयो ।

प्रदेश सरकारद्वारा असार महिना बित्नै लाग्दा १ करोडको बजेट एउटै गाउँमा हालिएको र मापदण्ड बमोजिम कामै नगरी पैसा अनियमितता गर्न लागिएको तथा त्यसमा ईन्जिनियर पनि मतियार बनेको सम्बन्धमा सडक नाप्न पुगेका ईन्जिनियर रोहित कुमार झासँग सोधपुछ गर्दा उहाँले आफूले सडकमा हालिएको ग्राभेल माटोको वास्तविक नाप लिएको, जहाँ जति छन् त्यती नै नापेको र नाप बमोजिम नै मूल्याँकन गरेर दिने त्यसभन्दा बढी केही नगर्ने बताउनुभयो ।

हलखोरी गाउँमा आएको एक करोड रुपैयाको काम कसरी यो ८/१० दिनमै गर्न सक्नुभएको सम्बन्धमा दुई वटा मध्ये एक उपभोक्ता समितिका अध्यक्ष राघवेन्द्र यादवसँग सोध्दा उहाँले आफू नाम मात्रको उपभोक्ता समितिको अध्यक्ष रहेको यो दुवै काम स्थानीय दरबेस यादवको रहेको र उहाँले भने झै आफूले गरिरहेको बताउनुभयो ।

उहाँले आफूलाई यसबारे बढी कुरा थाहा नभएको र जे छ । त्यो सडकमै रहेको थप्नुभयो ।

सोही सम्बन्धमा एकडारा गा.पा.-४ का वडा अध्यक्ष जीबछ प्रसाद यादवसँग सोधपुछ गर्दा उहाँले यो सरासर मधेश प्रदेश सरकारको गल्ती रहेको बताउनुभयो ।

उहाँले असार १३ गते बजेट आएको यस गाउँमा अन्तिम अन्तिममा हतार हतारमा काम गरिएको कारण मापदण्ड बमोजिम काम नभएको स्वीकार गर्नुभयो । तर उहाँले आज भोलिमा नै कामको अन्तिम प्रगति विवरण पेश गरेर रकम निकाल्नु पर्ने बाध्यता रहेको कारण उपभोक्ता समितिले गर्न सकेको कामको नाप जाँच गराएर मुल्याँकनको लागि दिएको बताउनुभयो ।

उहाँले ईन्जिनियरको मुल्याँकन भन्दा बढी रकम ननिस्किने तथा आफूले समेत त्यस्तो भूक्तानीको लागि कुनै स्थानमा कुनै प्रकारको सिफारिस तथा वकालत नगर्ने प्रतिबद्धता प्रकट गर्नुभयो ।

यता स्थानीय (हलखोरी) बासिन्दाहरुले यस कामको भूक्तानी भएमा एकडारा गाउँपालिका वडा नं.-४ को कार्यालय, एकडारा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्ने र मधेश प्रदेशको विरोधमा आन्दोलनका कार्यक्रमहरु गर्ने चेतावनी दिएका छन् ।