जनकपुरधाम,  

रौतहटमा ४ वर्षीया बालिकालाई अपहरण गरी फिरौती मागेको अरोपमा आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको इशनाथ नगरपालिका वडा नं. ७ का २४ वर्षीय महमद अविर हुसैन छन् ।

बच्चा अपहरण गरी फोन गरेर अभिभावकसँग २० लाख फिरौती मागेको अभियोगमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार हुसैनले बिहीबार साँझ आफ्नै घरबाहिर खेल्दै गरेको अवस्थामा बालिकालाई अपहरण गरेका थिए।

सोही साँझ साढे ७ बजेतिर पीडितका आफन्तलाई फोन गरी २० लाख रुपैयाँ लिएर आफूले भनेको स्थानमा आउन भन्दै अन्यथा छोरी मारिदिने चेतावनी दिएका थिए।

यस विषयमा पीडित परिवारले उजुरी दिएपछि खोजीमा खटिएको प्रहरी टोलीले रौतहटको राजपुर नगरपालिका वडा १ बहुअर्वा मदरसाअगाडि सडक छेउमा रहेको गुम्ती पसलनजिक बाँसले बनाएको खाटमा सुताइराखेको अवस्था बच्चाको उद्धार गरेको हो।

पीडितलाई बन्धक बनाई फिरौती रकम माग गर्ने हुसैनलाई त्यही दिनको राति ९ः४० बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनले प्रयोग गरेको भारतीय नम्बर बीआर ०५ एएफ ०२८२८ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ।

अभियुक्त हुसैनविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा रौतहट जिल्ला अदालतबाट शुक्रबार ५ को म्याद थप अनुमति घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।