जनकपुरधाम । धनुषाको शहिदनगरका नव निर्वाचित मेयर दिनेश प्रसाद यादवद्धारा हस्ताक्षरित एक पत्रमा गत आर्थिक बर्ष नै उल्लेख भएको देखिएपछि आलोचना भएको छ ।

विहिबार मेयर यादवद्धारा जारी गरिएको करारका कर्मचारीको अवधी थप सम्बन्धी पत्रमा आर्थिक बर्ष २०७७÷०७८ नै राखेपछि आलोचना भएको थियो ।

समाजिक सँजालमा पोष्ट गरिएको उक्त पत्रप्रति आलोचना गरिएपछि सो पत्रलाई हटाएर अर्को पत्र जारी गरिएको हो ।

शहिदनगर नगरपालिकामा करार सेवामा कार्यरत कर्मचारीहरुलाई कार्य सम्पादन र मूल्याँकनको आधारमा पुन अवधी थप गर्ने गरी कार्य सम्पादनको प्रतिवेदन बुझाउन जारी गरिएको सूचनामा चालु आर्थिक बर्ष २०७८÷०७९ हुनुपर्नेमा २०७७÷०७८ नै राखेपछि पत्रको अर्थ उल्टीएको थियो ।

सो आर्थिक बर्षमा पूर्व मेयर उदय कुमार बरबरिया (यादव) नै मेयर रहेको समयमा नयाँ मेयर दिनेश प्रसाद यादवले सूचना नै नहेरी हस्ताक्षर गरेको पाईएपछि उनको कार्य कौशलताप्रति प्रश्नचिन्ह खडा गर्दै समाजिक सँजालमा आलोचना भएको थियो ।

केही समयपछि नै सो पत्रलाई निष्कृय घोषणा गर्दै शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले सँयुक्त रुपमा हस्ताक्षर गरी पुनः सूचना जारी गरेको हो ।