महोत्तरी :  जिल्लामा वर्षेनी सडक दुर्घटना बढ्दै गएको छ । पछिल्ला तीन वर्षको तथ्याङ्कले वर्षेनी सडकमा सवारीसाधन दुर्घटनाका घटना बढेको देखाएको हो । आर्थिक वर्ष २०७६/७७, २०७७/७८ र ०७८/७९मा क्रमशः १७४, ७०० र ९२५सडक दुर्घटना भएका थिए ।

आव २०७६/७७ को तुलनामा ०७७/७८मा ५२६ ले ०७८/७९ मा २२५ ले सडक दुर्घटना बढेको जिल्ला ट्रफिक प्रहरी कार्यालयले जनाएको छ । आव २०७६/७७ मा कोरोना भाइरसको सङ्क्रमणको पहिलो लहरका बेला बाह्य आवागमनमा निकै कडाइ हुँदा सवारी दुर्घटना पनि पछिल्ला दुई वर्षको तुलनामा निकै कम देखिएको थियो । सो अवधिमा भएका दुर्घटनामा ४६ जनाको मृत्यु र ६६ जना घाइते भएका कार्यालयको अभिलेखमा छ ।

ट्राफिक प्रहरीले सो वर्ष एक हजार ५०६ सवारी साधनलाई कारबाही गरेको थियो । त्यसैगरी आव २०७७/७८ मा सडक दुर्घटना बढेसँगै मानवीय क्षति पनि बढेको देखिन्छ । सो अवधिमा ६३ जनाको मृत्यु र ४४२ जना घाइते भएका थिए । आव २०७८/७९ मा अघिल्लो वर्षभन्दा दुर्घटना सङ्ख्या बढे पनि मानवीय क्षति भने घटेको देखिन्छ ।

गत आवमा दुर्घटनामा परी ५४ जनाको मृत्यु भएको कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक उदयसिंह सिजापतिले जानकारी दिनुभयो । पछिल्ला वर्षमा सवारीसाधन बढ्दै गएका छन् । प्राय युवाअवस्थाका मोटरसाइकल चालकको अनियन्त्रित हँकाइका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाइ थियो । दुर्घटना हुने सवारीसाधनमा पनि मोटरसाइकलको सङ्ख्या नै निकै बढी देखिन्छ ।

आव २०७८/७९ का कूल सडक दुर्घटना ९२५ मध्ये मोटरसाइकल दुर्घटना नै ६३२ रहेको प्रहरी निरीक्षक सिजापतिले बताउनुभयो । पछिल्लो अवधिमा चालकहरूलाई ट्रफिक सचेतना दिइने क्रम बढाइएको र कारबाहीमा पनि सचेतना कक्षा सामेल गराइएको थियो ।

ट्राफिक प्रहरीले जिल्लामा आव २०७८/७९ मा गरेको कारबाहीबाट राजस्व रु दुई करोड ५३ लाख १९ हजार ५०० सङ्कलन गरेको छ ।