धनगढी । धनगढीमा स्रोत नखुलेको साढे १७ लाख भारतीय रुपैयाँसहित दुई युवक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको केन्द्रीय ब्युरोको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीबाट खटिएको टोलीले धनगढीको अस्पताल रोड नजिकैबाट १७ लाख ६६ हजार ६ सय ७० भारतीय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ बस्ने १७ वर्षीय विवेक चन्द र १८ वर्षीय सरोज धामी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देवराज जोशीले जानकारी दिए ।

उनका अनुसार पशुपति टोल बस्दै आएका उनीहरू दुवै जनालाई स्रोत नखुलेको उक्त रकम शनिबार बिहान करिब साढे ५ बजेतिर साइकलमा धनगढी चौराहतर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको हो ।