जनकपुरधाम,साउन १८ गते : व्यक्तित्व र नेतृत्व उत्पादन गर्ने जनकपुर जेसिज आर्थिक बिबादमा फँसेको छ । केहि दिन पुर्व जनकपुर जेसिजका अध्यक्ष राज कुमार साहको नेतृत्वमा भएको साधारणसभाबाट महासचिव अजय कुमार गुप्ता तथा कोषाध्यक्ष उपेन्द्र साहलाई जिम्मेवारीबाट मुक्त गरेको जनाइएको थियो ।

तर अध्यक्ष साह काठमाण्डौं रहेका बेला निलम्बित भनिएका गुप्ता र साह सहितको समुह जेसिज भवनमै बुधवार पत्रकार सम्मेलन गरि अध्यक्ष साह अवैधानिक रुपमा महासचिव र कोषाध्यक्षलाई निलम्बन गरेको भन्दै प्रतिवाद गरेका छन् ।

निवर्तमान अध्यक्ष मनोज कुमार साह, पुर्वअध्यक्षहरु निर्मल चौधरी, तुल्सी पजियार, सुधिर पजियार, शंकर प्रसाद साह सहितकालाई राखेर उनीहरुले अध्यक्ष साह गलत किशिमले बिना बोर्ड बैठक राखेर गलत मनसायले कोषाध्यक्ष र महासचिव हटाएको र निवर्तमान कार्यसमिति उपर आर्थिक हिनामिनाको आरोप लगाएको बताए ।

गत बुधवार अध्यक्ष साहले बोलाएको साधारणसभा यस समुहले बिथोल्न चाहेका थिए ।

वर्तमान अध्यक्षसहितका समुहले महासचिव गुप्ता र कोषाध्यक्ष साह मिलेर आर्थिक हिनामिना गरेको आरोप लगाइरहेको भन्दै अनुसन्धान हुने र त्यसका लागि समिति समेत बनाइने बताउदै आएको छ । हाल अध्यक्ष साह बुवाको उपचारका लागि आफू काठमाण्डौंमा रहेका बताएका छन् ।