जनकपुरधाम । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतको अयोध्यामा निर्माणाधिन राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्रबीच मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने बिषयमा सकारात्मक छलफल भएको छ।

बिहीबार नयाँ दिल्ली स्थित प्रधानमन्त्री संग्रहालयमा निधि र मिश्रबीच भएको एक घण्टा लामो छलफलमा धनुष राख्ने विषमा सकारात्मक छलफल भएको हो । प्रधानमन्त्री संग्रहालयका अध्यक्षसमेत रहेका मिश्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पूर्व प्रधान सचिव हुन्।

सो अवसरमा राम मन्दिरमा राखिने रामको प्रतिमा नेपालको कालिगण्डकी क्षेत्रको शिलाबाट बनाउने बिषयमा पनि छलफल भएको थियो । निधिसँगको भेटमा उनले यसबारे दुबै देशका सरकारबीच छलफल गरी प्रकृया अघि बढाउनु पर्ने बताएका छन् ।

गत शुक्रबार अयोध्या पुगेका निधिले धनुष र शिलाका विषयमा राखेका प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्m्नो कार्य समितिमा छलफल गरी सहमति गराउने प्रतिवद्धता दिएका थिए ।

यसैबीच,पूर्व उपप्रधानमन्त्री निधिको सम्मानमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले बिहीबार दूतावासमा रात्रीभोज आयोजना सामेत गरेका थिए।