जनकपुरधाम । मधेश प्रदेश सरकारका  अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले देशमा मधेशी, आदिवासी जनजाति, मुस्लिम सहित समुदाय पिछडिएको नभई पछाडिएर राखेको समुदाय रहेको  बताए  ।

२८ औं बिश्व आदिवासी जनजाति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् धनुषाले जनकपुरधाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री साहले देशको एक तिहाई जनसंख्याको अधिकार, पहिचान र पहुँच सुनिश्चित नभए सम्म देश र प्रदेशको विकास सम्भव नरहेको जिकिर गरे ।

कार्यक्रममा प्रदेश सांसद सुरेश कुमार मंडलले आदिवासी जनजातिका ५९ विभिन्न जातजातिहरु बहुसंख्यक रहेपनि प्रतिनिधित्व र पहिचान हुन नसकेको बताए ।

महासंघ जिल्ला समन्वय परिषद् धनुषाकी अध्यक्ष जमुना भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री साह, सांसद मण्डललाई मायाको चिनो सहित सम्मान  गरिएको थियो ।

कार्यक्रममा महासंघ मधेश प्रदेशका अध्यक्ष मनोज सिंह दनुवार, अगुवा कमलेश मण्डल, राष्ट्रिय मानवअधिकार आयोग जनकपुरका अधिकृत मनमाया राणामगर, ईन्सेक मधेश प्रदेशका अध्यक्ष राजु पासवान सहितकाले आ-आफ्नो धारणा राखेका थिए ।

त्यस्तै, मधेश प्रदेश सरकारको आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाति महासंघको आफ्नै भवन जनकपुरधाममा बन्ने भएको छ ।

मंगलवार एक कार्यक्रमबीच अर्थमन्त्री साहले सो भवनको शिलान्यास गरेका छन् । प्रदेश सरकारले चालु आर्थिक वर्षमा २५ लाख रुपैया भवनका लागि बिनियोजन गरेको महासंघ मधेश प्रदेशका अध्यक्ष मनोज सिंह दनुवारले बताए ।

महासंघले भवनमा कार्यालय, प्रशिक्षण र सभाहलसहित तीन तल्ले भवन निर्माण हुन लागेको जनाएको छ । देशको एक तिहाई जनसंख्या रहेको आदिवासी जनजातिको अधिकार, पहिचान र पहुँच सुनिश्चित हुन नसकेको भन्दै अगुवाहरुले भवनका लागि प्रदेश सकरारलाई  सहयोगको सराहना गरेको छ ।

२८ औं विश्व आदिवासी जनजाति दिवसको अवसर पारेर भवनको शिलान्यास गरिएको हो । सो अवसरमा प्रदेश सांसद सुरेश कुमार मण्डल, अगुवा कमलेश मण्डल, महासंघका पदाधिकारीहरु सहित आदिवासी जनजातिका अगुवाहरुको सहभागिता रहेको थियो ।