जलेश्वर :  महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित जिल्लाकै सबैभन्दा पूरानो विद्यालय श्री लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयमा २ करोड बढी रुपैयाको लागतमा ‘नमूना विद्यालय’को भवन निर्माण कार्य शुरु भएको छ ।

जलेश्वर नगरपालिकाको वडा नं.-२ मा अवस्थित चलमु विद्यालयमा नेपाल सरकार शिक्षा मन्त्रालयको २ करोड ८७ लाख बजेटमा २ करोड १५ लाखमा ‘ बाबा कर्मा जेभी जलेश्वरले’ टेण्डर हात पारेको नमूना विद्यालय भवनको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले शिलान्यास गरेपछि काम शुरु भएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बरुण कुमार दाहालका अनुसार लचमु विद्यालयलाई नमूना विद्यालय बनाउने उद्देश्यले नेपाल सरकारले बजेट उपलब्ध गराउनुभएकोमा अहिले २ करोड १५ लाखको लागतमा दुई तल्ले ८ कोठाको भवन निर्माण गर्न लागिएको हो । उहाँले तल चार कोठा र माथि पनि चार कोठा गरी आठ कोठाको भवन निर्माण हुन लागेको बताउनुभयो ।

२००८ सालमै जिल्लामा पहिलो विद्यालयको रुपमा स्थापन भएको लचमु विद्यालयको सबै भवन र कक्षाकोठाहरु जीणर् भई वर्षौदेखि जीणर् भवनमै पठन पाठन हुँदै आएकोमा यस नमूना भवन निर्माण भएपछि विद्यार्थीहरुलाई पठन पाठनमा ठूलो सहयोग प्राप्न हुने प्रधानाध्यपक संजीवकुमार झाले बताउनुभयो ।

उहाँले जीणर् कक्षा कोठामा पठन पाठन गराइराख्दा भवन कहिले झर्ने तथा कति बेला कुन दुर्घटना हुने डर भय हुने गरेकोमा यस भवन निर्माण पश्चात विद्यालय तथा विद्यार्थीलाई राहत प्राप्त हुने प्रधानाध्यपक झाले थप्नुभयो ।

लचमु विद्यालयमा बाल कक्षादेखि १२ कक्षा सम्म पठन पाठन गराइन्छ भने यहाँ दुई हजार बढी बालबालिकाहरु अध्ययनरत रहेको प्रधानाध्यापक झाले बताउनुभयो ।

आज शिलान्यस गरी निर्माण कार्य शुरु गरेको ‘बाबा कर्मा जेभी जलेश्वर’ले नमूना विद्यालय अन्तर्गतको यस आठ कोठे भवन आउँदो १५ महिनाभित्र निर्माण कार्य पूरा गर्नुपर्ने छ ।

निर्माण कम्पनीको ठेकेदार राजनारायण साहले आफू २५ प्रतिशत विलोमा ठेक्का प्राप्त गरेपनि समयभन्दा पहिले निर्माण पूरा गरेर समय अगावै विद्यालयलाई भवन हस्ताँतरण गर्ने योजनामा रहेको बताउनुभयो ।

उहाँले समय अगावै भवन निर्माण गरेर निर्माण कम्पनीले नेपाल सरकारबाट बोनस रकम पाउने दाबी पनि गर्नुभयो ।