रौतहट । मधेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह एक सार्वजनिक कार्यक्रममै निदाएपछि अहिले चर्चामा छन् ।

चन्द्रपुर नगर उद्योग वाणिज्य संघको सपथग्रहण कार्यक्रममा प्रमुख अतिथिको रुपमा कार्यक्रममा सहभागी मन्त्री सिंह कार्यक्रमको दौरान पटक–पटक निदाएका थिए ।

अगाडि मञ्चको सोफामा आरामले बसिरहेका मन्त्री कार्यक्रममा अन्य वक्ताहरुले बोलिरहँदा निदाइरहेका थिए । बेला–बेलामा आँखा खोलेपनि मन्त्री सिंह पुनः निदाइहाल्थे । उनी निदाएको फोटो अनि भिडियो अहिले सामाजिक संजालहरुमा भाइरल भइरहेको छ ।सार्वजनिक कार्यक्रममै निदाएपछि मन्त्रीको आलोचना पनि सुरु भएको छ ।

कति सामाजिक संजाल प्रयोगकर्ताले ‘मन्त्रीज्यूलाई कार्यक्रम स्थलमै बेडको व्यवस्था गर्नुपरो’ भन्दै व्यङ्ग गरेका छन् भने केहीँ मन्त्रीहरुले विकासको नाममा सिन्का नभाँच्ने आफ्नो कार्यकाल यसरीनै सुतेर बिताउने’ भन्दै आक्रोस पनि व्यक्त गरेका छन् ।

‘हाम्रो देशको मन्त्री हरुको भात नै यस्तो हो, हजुर खाए कि निन्द्रा लागिहाल्छ’, ‘यसो पानी छर्केर बिउझाइदिनु पर्ने’, ‘मधेस प्रदेशको विकासका निमित्त योजना बनाउनु परोनी, यसो योगाभ्यास गरेर’ लगायतका व्यङ्ग्यात्मक कमेन्टहरु सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गरिरहेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका सिंहको ठूलो फोटोसहितको बाल विवाह विरुद्धको होडिङ्ग बोर्ड मधेश प्रदेशका ८ ओटै जिल्लाहरुको विभिन्न स्थान र राजमार्गहरुमा राखिएका छन् । होडिङ्ग बोर्डमा उठ्ने अनि कार्यक्रममा सुत्ने भन्दै उनको आलोचना गर्नेहरु पनि सामाजिक सञ्जालमा भेटिएका छन् ।