जनकपुरधाम । मधेश प्रदेशका सांसदसहित सात जनलाई कारबाही गर्न माग गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य तथा मधेश प्रदेशका सांसद ज्ञानेन्द्रकुमार यादव र चमेली देवी दाससहित सात जनालाई कारबाही गर्न माग गरिएको छ ।

स्थानीय निर्वाचन अन्तर्गत लक्ष्मीनियाँ गाउँपालिकामा पार्टीसँग अन्तरघात गरेको भन्दै नगर कार्य समितिले साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।

गाउँपालिका अध्यक्ष लालबाबु यादवले जारी गरेको प्रेस विज्ञप्तिमा सांसद द्वयसहित जिल्ला सदस्य शत्रुधन यादव, इन्द्रकला देवी यादव, दुखरण यादव, गणेशकुमार यादव र उमेश कुमार यादवलाई कारबाही गर्न माग गरिएको छ ।

सांसद दासले आफ्नै घरमा उनीहरुको चुनावी कैम्प चलाएका थिए । उनीहरु स्थानीय निर्वाचनमा बहुजन समाजवादी पार्टीबाट लालटेन छाप लिई चुनावमा भाग लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इन्द्रकला देवी यसयघि सोही पालिकामा उपेन्द्र यादव नेतृत्वकै पार्टीबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् भने वडा -२ मा गणेश यादव र वडा -६ मा उमेश यादव वडाध्यक्षमा निवार्चित भएका थिए ।