जनकपुरधाम । अन्तर्राष्ट्रिय युवा दिवसमा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ । आइतबार २२ औं अन्तर्राष्ट्रिय युवा दिवसमा सचेतना कार्यक्रम गरिएको हो ।

‘अन्तर पुस्ताको ऐक्यबद्धताः सबै उमेर समूह मैत्री विश्व निर्माणमा प्रतिबद्धता’ को नाराका साथ मधेश प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको आयोजना र जिल्ला युवा सञ्जाल धनुषाको अगुवाइमा कार्यक्रम सम्पन्न भएको हो ।

विभिन्न गैरसरकारी संघसंस्थाहरुको सहकार्यमा चार दिवसीय कार्यक्रम अन्तर्गत आइतबार जिल्ला ट्राफिकसंग समन्वय गरेर ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा मोटरसाइकल चलाउदा अनिवार्य रुपमा हेलमेटको प्रयोग,चार पाङ्ग्रा गाडी चालकसहित अगाडि बस्नेलाई सिट बेल्ट, पैदल यात्रुलाई फुटपाथ बाट ओहोर दोहोर र बाटो काट्दा जेब्रा क्रस प्रयोग गर्न अनुरोध गरिएको थियो ।

जथाभावी हर्नको प्रयोगले हुने असर बारे पनि सचेतना दिइएको थियो । सञ्जाल बिगत ६ बर्षदेखि धनुषामा युवा दिवसमा कार्यक्रम गर्दै आएको छ ।