जनकपुरधाम । जनकपुरधामको मुजेलियास्थित राधाकृष्ण सार्वजनिक पुस्तकालयको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा धाँधली भएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको छ ।

गत शनिबार भएको निर्वाचनमा कोषाध्यक्ष पदको मतगणनामा धाँधली भएको भन्दै सोही पदका प्रत्यासी उम्मेदवार प्रभाष कुमार राय (जनक)ले उजुरी दिएका हुन् ।

उनले पुनः मतगणनाको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दर्ता गराएका छन् । निर्वाचन समितिले मतगणनामा धाँधली गरेर कोषाध्यक्षमा रामअशिष साहलाई एक मतले जिताएको रायको जिकिर छ ।

रायले मतगणनास्थलमा आफूलाई जान नदिई निर्वाचन समितिलाई प्रभावमा पारेर आफ्नो एकमत रामअशिषकै मतमा काउन्टिङ्ग गरी उनलाई जिताएको दावी गरेका छन् ।

कोषाध्यक्षमा निर्वाचित साहको ३९ र रायको ३८ मत आएको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्ष पदमा तीनजनाको उम्मेदवारी परेको थियो ।

यस्तै अध्यक्ष पदमा समेत मत बराबर भएपछि अन्यौल भएको छ । अध्यक्ष पदमा राजकिशोर यादव र रामजस यादवसहित दुईजना प्रतिस्पर्धामा थिए । सो पदको पुनः मतगणना हुने जनाइएको छ ।