महोत्तरी :  आर्थिक वर्ष सुरु भएको दुई महिना बितिसक्दा पनि महोत्तरीको भङ्गाहा नगरपालिकाको नगरसभा हुन सकेको छैन ।

कार्यपालिकामा कुनै एक पार्टीको बहुमत नहुँदा सो नगरले अहिलेसम्म चालु आर्थिक वर्षको बजेट तथा नीति तथा कार्यक्रम समेत ल्याउन सकेका नसकेको हो ।

प्रत्येक वर्ष असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था रहीआएको छ । नगर प्रमुख लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सञ्जीवकुमार साह निर्वाचित हुनुभए पनि कार्यपालिकामा नेपाली कांग्रेसको बहुमत छ ।

वडा नं ४ का वडाध्यक्ष गणेश महतो नगरप्रमुख साहका कारण अहिलेसम्म नगरसभा तथा बजेट विनियोजन हुन नसकेको आरोप लगाउनुभयो ।

कार्यपालिका सदस्य विजयकुमार मण्डलले करारका कर्मचारीले अहिलेसम्म तलब नपाएको बताउनुभयो । नगर प्रमुख साहले स्थानीय तहमा बहुमत र अल्पमतको विवाद ल्याउन नहुने बताउनुभयो ।