महोत्तरी ८ भदौ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा लामो समयपछि मणिपाल कलेज बन्ने भएको छ ।

जलेश्वर नगरपालिकाको वडा नं.-८ मा २४ वर्षअघि मणिपाल ईन्जिनियरिङ्ग कलेज निर्माणका लागि ३५ विग्हा जग्गा खरिद गरी छाडेको मणिपालले अब त्यहाँ ईन्जिनियरिङ्ग कलेजको साथै अन्तर्राष्ट्रिय स्तरको अन्य प्राविधिक कलेज सञ्चालनमा ल्याउने भएको मणिपालको निर्देशक नारायण पौडेलले बताउनुभएको छ ।

मणिपाल ग्रुपले बुधबार जलेश्वरमा आएर स्थलगत निरीक्षण गर्नुहुँदै जलेश्वर नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा पत्रकार तथा स्थानीयहरुलाई अब चाँडै जलेश्वरमा मणिपाल कलेज निर्माणको कार्य शुरु गरिने बताउनुभयो ।

मणिपालका अर्का निर्देशक शान्ताराज बतासले जलेश्वरमा कलेज निर्माण तथा सञ्चालनका लागि मास्टर प्लान बनिसकेको र सम्बन्धन लिने तथा अन्य प्राविधिक कामहरु तीव्र गतिमा भइरहेको भन्नुहुँदै केहि दिनमै कलेज निर्माणको प्रक्रिया अघि बढ्ने प्रतिबद्धता प्रकट गर्नुभयो ।

उहाँले यस कलेज निर्माण तथा सञ्चालनको लागि जलेश्वर नगरपालिका तथा स्थानीयहरुको साथ र सहयोगको आवश्यकता पर्ने र यहाँबाट सहयोग पाएमा चाँडै निर्माणका कार्य शुरु गरेर चाँडै सम्पन्न गरी/गराई ईन्जिनियरिङ्ग तथा अन्य अन्तर्राष्ट्रिय स्तरको प्राविधिक शिक्षाको शुभारम्भ गरिसक्ने बताउनुभयो ।

उहाँले स्थानीय जनता तथा स्थानीय सरकारको सहयोग पाएमा आफूहरुलाई हौसला मिल्ने र चाँडै निर्माण कार्य सकेर चाँडै पठन पाठन पनि शुरु गर्ने योजना रहेको बताउनुभयो ।

यस क्षेत्रमा यस मणिपाल कलेज निर्माण भएपछि यस क्षेत्रले शिक्षा तथा रोजगारीको क्षेत्रमा फड्को मार्दै नेपालको समग्र विकासमा टेवा पुग्ने भन्नुहुँदै निर्देशक नरायण पौडेलले अब जुनसुकै हालतमा पनि आफूहरुले यहाँ मणिपाल कलेज निर्माण गरेरै छाड्ने प्रतिबद्धता प्रकट गर्नुभयो ।

 

२४ वर्षअघि कौडीको भाऊ (१० हजार प्रतिकट्ठा) मा जग्गा बेचेका स्थानीयहरुले मणिपालमा आफ्ना छोरा/छोरीलाई प्राथमिकताका साथ छात्रवृति र रोजगारी पाउने वचन दिएका मणिपाल गु्रपले आज पनि सो प्रतिबद्धता दोहोर्‍याउँदै यस कलेज निर्माणमा सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।

मणिपाल कलेजका प्रमुख ईन्जिनियर सञ्जय कुमार गुप्ताले भारतको बिहार र युपीसँग सीमाना जोडिएको यस क्षेत्रमा मणिपाल कलेज एउटा ब्राण्ड रहेको र भारतीय विद्यार्थीहरुको मणिपालको शिक्षाप्रति ठूलो विश्वास रहेको कारण भारतीय विद्यार्थीहरु पनि जलेश्वरमा ईन्जिनियरिङ्ग शिक्षाका लागि आउने ठूलो संभावना रहेकोले जलेश्वरमा पक्कै निर्माण हुने र त्यसमा कुनै शंका नगर्न सबैलाई आग्रह गर्नुभयो ।

मणिपाल ग्रुपसँगै जनकपुरधामबाट आउनुभएका मधेश प्रदेशका महान्यायधिवक्ता दिपेन्द्र कुमार झाले पनि अब जलेश्वरमा मणिपाल पक्कै बन्ने बताउनुभयो ।

उहाँले कलेज निर्माण तथा सञ्चालनका लागि सरकार तथा अन्य सरोकारवाला निकायसँग ईजाजत, सहमति र सहकार्य गर्नुका साथै विभिन्न प्राविधिक कृयाकलापहरु गर्नुपर्ने रहेकोमा त्यो सबै दु्रत गतिमा भइरहेको र चाँडै नै निर्माण कार्यको थालनी हुने बताउनुभयो ।

मणिपाल ग्रुपसँगको छलफलमा बस्नुभएको जलेश्वर नगरपालिका मेयर सुरेश साह सोनारलाई संचारकर्मीहरुले ‘अब प्रदेश र संघको निर्वाचन आएको छ, कहि यो तपाईको चुनावी एजेण्डा त होईन ?’ भनी प्रश्न गर्दा उहाँले ‘होईन, यो विश्वासको कुरा हो । विश्वास गर्नुहोस । हामीले निक्कै आग्रह गरेर वर्षौदेखिको जलेश्वरबासीको सपना साकार गर्न/गराउन मणिपाललाई यहाँ बोलाएका छौ । र अब पक्कै मणिपाल कलेज बन्ने छन्’ बताउनुभयो ।

उहाँले आफ्ना विपक्षी तथा जलेश्वरका भलो नचाहनेहरुले मणिपाल बन्दैन भने अफवाह फैलाईरहेको बताउनुहुँदै त्यस्ता अफवाहको पछि स्थानीयहरुलाई नलाग्न र मणिपाल निर्माणमा सबैले सबै पक्षबाट सहयोग गर्न अपिल गर्नुभयो ।

जलेश्वर नगरपालिकाको सभाकक्षमा भउको छलफल कार्यक्रममा जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार, प्रमुख प्रशासकिय अधिकृत प्रवीण कुमार झा, ईन्जिनियर पवन कुमार झा सहित प्राविधिक टोली, जलेश्वरका नागरिक समाज, भद्र भलाद्मी र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

मणिपाल कलेज निर्माण हुने भएपछि स्थानीयबासिन्दाहरु खुशी भएका छन् भने उनीहरुले मणिपाल गु्रपलाई जलेश्वर आएकोमा स्वागत गरेका छन् ।