जनकपुरधाम, भदौ १२ गते ।

मधेस प्रदेशको प्रदेशसभाको संसदीय अनुगमन विशेष समिति २०७५ मा सत्तापक्षकै हालीमुहाली रहेको भन्दै रानी शर्मा तिवारीले सदस्य पदबाट राजीनामा दिएकी छिन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट मधेस प्रदेशको प्रदेशसभा सदस्य रहेकी शर्माले समितिमा सत्तापक्षकै बहुमत रहेको र सत्तापक्षले गरेका कामहरूको अनुगमन गर्ने क्रममा सरकारले समितिलाई असहयोग गरेको भन्दै पदबाट राजीनामा दिएकी हुन् ।

उनले अनुगमनको क्रममा सम्बन्धित मन्त्रालयहरूले समितिलाई आवश्यक कागजातहरू समयमा उपलब्धसमेत नगराएको आरोप लगाएकी छिन् ।

सप्तरीको सिँचाइ डिभिजन कार्यालयले २० करोड थप रकम पाएको र उक्त रकमको योजना उपभोक्ता समितिबाट सञ्चा‍लन गर्नको लागि कार्यालयले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गइ रकम टुक्रा–टुक्रा पारी योजना सञ्चालन गर्दै आइरहेको प्रदेशसभा सदस्य शर्माको भनाइ छ।

उनले यस विषयमा निष्पक्ष अनुगमन गर्न समितिका सत्तापक्षीय सदस्यहरू सकारात्मक नरहेको कारण समितिका बैठकहरू समेत समयमा बस्ने अवस्था नरहेको जानकारी दिइन् ।

समितिका सत्तापक्षीय सदस्यहरूको कार्य अवस्था तथा सरकारको असहयोगको कारण आफूले राजीनामा दिन बाध्य भएको उनले बताइन् ।