महोत्तरी, १२ भदौ । देशभरि नेपाल विद्यालय कर्मचारी परिषदले आह्वान गरेको एक हप्ते सामुदायिक विद्यालय बन्दको प्रभाव महोत्तरीमा पनि देखिएको छ ।

परिषदले भदौ १२ देखि १८ गतेसम्मका लागि विद्यालय कर्मचारीहरुले राष्ट्रव्यापी विद्यालय बन्दको आह्वान गरेकोमा आईतबार पहिलो दिन जिल्लाको सबै सामुदायिक विद्यालय आह्वानकर्ताहरुले बन्द गराउन सफल रहेको परिषदका केन्द्रिय सदस्य रविन यादवले बताउनुभयो ।

जिल्लाका ३ सय १० वटा सामुदायिक विद्यालयमा कार्यरत लगभग १ सय १० जना लेखापाल तथा लगभग ३ सय ५० जना कार्यालय सहयोगी सहितका विद्यालय कर्मचारीहरुले जिल्लाको सम्पूणर् विद्यालयहरुको पठनपाठन बन्द गराउन सफल रहेका छन् ।

जिल्लाको १० नगरपालिका तथा ५ गाउँपालिकामा कार्यरत सम्पूणर् विद्यालय कर्मचारीहरुले दरबन्दी सृजना, तलब मिलान, एक पटकका लागि स्वतः स्थायी, कार्यरत कर्मचारीलाई उमेर हद नलाग्ने तथा अवकाश पाउन लागेका विद्यालय कर्मचारीहरुलाई शिक्षक सरह सेवा सुविधा दिएर विदाई गर्नुपर्ने सहितका माँग राख्दै नेपालको अन्य जिल्ला झै महोत्तरीमा पनि बन्दको आह्वान गरेका छन् ।