मधेशटप,संवाददाता , भदौ १८ गते । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाट ठगी मुद्दामा फरार आरोपीलाई भगाएका छन् ।अध्यक्ष अन्सारीले दुबईबाट काठमाडौँ आएका सुनसरी घर भएका ३० वर्षीय रिजवान आलमलाई भीआईपी कक्षबाट आफैँले रिसिभ गरेर बाहिर ल्याएका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शुक्रबार बिहान अन्सारीले प्रहरीलाई छक्याएर भगाएका आरोपीलाई राती मेरियट होटलबाट पक्राउ गरेको हो ।होटलमा अर्को व्यक्तिको नाममा कोठा बुक गरेर उनलाई राखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

रिजवानलाई विमास्थल सुरक्षा कार्यालयको पत्रको आधारमा पक्राउ गरेर बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईले बताए ।

अध्यक्ष अन्सारीले शुक्रबार दुबईबाट आउने ५ जना डेलिगेट्सका लागि भीआईपी कक्ष प्रयोग गर्न गृह मन्त्रालयबाट अनुमति लिएका थिए । उनीहरुलाई रिसिभ गर्न विमानस्थल पुगेका अन्सारीले फरार आरोपी आलमलाई पनि माला र खादा लगाएर आफ्नै गाडीमा राखेर लिएर हिँडे । ५ जना लाई भीआइपी कक्ष प्रयोग गर्न अनुमति दिइए पनि ६ जनाको पासपोर्ट चेकजाँचका लागि अध्यागमनमा पठाइएको थियो ।

पासपोर्ट चेकगर्दा रिजवान आलम कालोसूचीमा रहेको खुलेपछिअध्यागमनका कर्मचारीले प्रहरीलाई खबर गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले २०७८ फागुन २७ मा आलमसहित ११ जनाको नाममा पक्राउ अनुमति लिएको भेटिएको छ ।

यस अघि अन्सारी गत स्थानीय निर्वाचनमा जनकपुरधाममा पैसा बाँडेको आरोप लागेपछि स्थानीय बासिन्दाले उनी बसेको होटल घेराउ गरेका थिए ।