जनकपुरधाम । जनता समाजवादी पार्टी (जसप) का अध्यक्ष उपेन्द्र यादव सबैभन्दा बढी ६ वटा क्षेत्रवाट उम्मेदवार बन्नका लागि सिफारिस भएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरुले उम्मेदवार चयन गर्नका लागि विभिन्न क्षेत्रवाट उम्मेदवार सिफारिस गर्ने क्रमलाई तीव्रता दिएको छ । पाँच दलीय गठबन्धनमा सिटको बाँडफाँट नभए पनि गठबन्धन आबद्ध दलहरुले सबै क्षेत्रवाट उम्मेदवार सिफारिस गरेका छन् ।

तर, एउटा उम्मेदवार एक भन्दा बढी सिटमा उम्मेदवार बन्न सक्ने छैन् । सबैभन्दा बढी क्षेत्रवाट जसपा अध्यक्ष उपेन्द्र यादवको नाम ७ बटा निर्वाचन क्षेत्रवाट सिफारिस गरिएको छ । ०७४ मा उनी सप्तरी– २ बाट निर्वाचित भएका थिए । यसपटक पनि उनी त्यहीबाट सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस भएका छन् ।

तर, मोरङ–५, बारा–२ र ४, सिरहा–१ र २ तथा धनुषाको ३ बाट समेत उनको नाम सिफारिस भएको छ । पहिलो संविधान सभा चुनावमा उनी मोरङ–५ र सुनसरी–५ बाट उठेका थिए । त्यतिबेला दुबै क्षेत्रबाट जितेका थिए । २०७० को दोस्रो संविधान सभा चुनावमा पनि उनले त्यही क्षेत्र दोहो¥याए तर सुनसरीमा जिते, मोरङमा हारे । सप्तरी–२ बाट यस पटक जनमत पार्टीका अध्यक्ष सीके राउतले समेत उठ्ने घोषणा गरेका छन् । राउतले यादवलाई भेटेर उक्त क्षेत्रमा आफूलाई सहयोग गर्नसमेत आग्रह गरिसकेका छन् ।

त्यस्तै सबैभन्दा बढी ठाउँवाट उम्मेदवार सिफारिस हुनेमा दोस्रो नम्बरमा कांग्रेस सभापति शेरवहादुर देउवाका श्रीमती आरजु राणा देउवा रहेकी छन् । उनको नाम पाँच जिल्लाबाट सिफारिस भएको छ । उनी ०७४ को निर्वाचनमा कैलाली–५ मा पराजित भएकी थिइन् । यसपटक पनि यहीबाट उनको नाम सर्वसम्मत सिफारिस भएको छ । तर, त्यसबाहेक डडेलधुरा, बाग्लुङ, बाँके र बर्दियाबाट समेत उम्मेदवारका लागि उनको नाम सिफारिस भएको छ । सबैभन्दा बढी ठाउँवाट उम्मेदवार सिफारिस हुनेमा तेस्रो नम्वरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रहेका छन् । प्रचण्ड ४ स्थानवाट उम्मेदवारका लागि सिफारिस भएका छन् । उनको नाम नवलपुर क्षेत्र नं. १ बाट पनि सिफारिस भएको छ । त्यस्तै बागलुङ क्षेत्र नम्बर २ बाट समेत उनको नाम सिफारिस भएको छ ।

त्यसपछि नेपाली कांग्रेसका महामन्त्री गगण थापा तीन स्थानवाट सिफारिस भएका छन् । ०६४ मा समानुपातिक तर्फ सांसद् बनेका उनी ०७० र ०७४ मा यही क्षेत्रबाट निर्वाचित भएका थिए । तर, यसपटक थापालाई सर्लाही र कास्कीका नेता कार्यकर्ताले समेत आफ्नो क्षेत्रबाट चुनाव लडिदिन आग्रह गर्दै उनको नाम सिफारिस गरी पठाएका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नाम दुई वटा क्षेत्रवाट सिफारिस गरिएको छ । उनको नाम गृह जिल्ला रौतहटबाट सिफारिस गरिएको छ । यस अघि ०७४ मा उनी काठमाण्डु–२ बाट विजयी भएका थिए ।

रौतहट क्षेत्र नं. १ र क्षेत्र नं. ४ बाट उम्मेदवारका लागि नेपालको नाम सिफारिस भएको छ । पार्टीको महाधिवेशनमा मधेशी कोटाबाट केन्द्रीय सदस्य बनेका उद्योगपति विनोद चौधरी प्रत्यक्ष तर्फ निर्वाचन लड्ने भएका छन् । उनको नाम तीनवटा क्षेत्रबाट प्रत्यक्ष तर्फ उम्मेदवारका लागि सिफारिस गरिएको छ ।

त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतको नामसमेत प्रत्यक्ष तर्फ उम्मेदवारका लागि काठमाण्डु र नुवाकोट गरी दुई क्षेत्रबाट सिफारिस भएको छ । विगतमा नुवाकोटदेखि चुनाव लड्दै आएका महत ०७४ मा भने काठमाडौं–५ बाट चुनाव लडेका थिए । यस पटक पनि काठमाण्डु–५ बाटै उनको एकल नाम सिफारिस भएको छ ।

त्यस्तै नेकपा एमालेका नेता घनश्याम भुसाल प्रतिनिधिसभा निर्वाचनका लागि रूपन्देहीका दुई वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् । क्षेत्र नं. १ र ३ को क्षेत्रीय कमिटीले सिफारिस गरे पनि जिल्ला कमिटीले नेता भुसाललाई कुन क्षेत्रबाट उम्मेदवार बनाउने भन्ने टुंगो लगाउन सकेको छैन ।