जनकपुरधाम । ठूला साना सवारी साधनको नामसारी तथा नवीकरण गराउँदा सो सवारी साधनको इन्स्योरेन्स हुनुपर्ने नेपालको कानूनी प्रावधान छ ।
तर नेपाल सरकारले आफै उक्त प्रावधानलाई उलंघन गरी महिनौ देखि जयनगर कुर्था रेल नियमित रुपमा संचालन हुँदै आएको तथ्य सार्वजनिक भएको छ ।

भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलो मिटर दूरीमा दैनिक दुई पटक संचालन हँुदै आएको दुई वटा रेल बिना इन्स्योरेन्स संचालन भइरहेको छ ।

गत चैत २० गतेदेखि एक पटकमा हजारभन्दा बढी यात्रु लिएर हिड्ने दुई वटा रेलको अहिले सम्म बिना इन्स्योरेन्स नियमित रुपमा संचालन हुँदै आएको छ ।

नेपाल रेल्वे विभागका इन्जिनियर तथा काजमा नेपाल रेल्वे कम्पनीमा कार्यरत रहेका रविन्द्र साहले पनि दुबै रेल बिना इन्स्योरेन्स संचालन भइरहेको स्वीकार गरेका छन् ।

उनले बजेटको अभावमा अहिलेसम्म दुबै रेलको इन्स्योरेन्स गराउन नसकिएको बताए । दुबै रेलको इन्स्योरेन्सको लागि गत आर्थिक वर्षमा ३० लाख रकम विनियोजन गरिएको थियो । इन्जिनियर साहले भने,‘ रकम अपुग भएपछि इन्स्योरेन्स गराउन सकिएन ।

चालु आर्थिक वर्षमा पनि आवश्यकता अनुसारको रकम विनियोजन भएको छैन । इन्स्योरेन्सको लागि थप बजेटको व्यवस्थापन नभए यो आर्थिक वर्षमा पनि हँुदैन ।’ दुबै रेलको इन्स्योरेन्सको लागि ७५ लाख रकम खर्च हुने उनले जानकारी दिए ।

उनले भने इन्स्योरेन्स नभए पनि रेल दुघर्टनाग्रस्त हुँदा यात्रुलाई नेपाल रेलको ऐन अनुसार मृतकका परिवारजनले ७ लाख क्षतिपूर्ति वापत पाउने व्यवस्था गरिएको छ ।

त्यसकारण, यात्रुहरुलाई खासै समस्या हुँदैनन् । तर रेलमा कुनै प्रकारको समस्या भएको खण्डमा अनावश्यक खर्चको भार उठाउनुपर्छ ।’

जयनगर-कुर्था रेल नेपाल रेल्वे कम्पनीले नियमित रुपमा चलाए पनि दुबै रेल अहिले पनि नेपाल रेल्वे विभागकै नाममा रहेको छ । नेपाल रेल्वे विभागले अझै पनि दुबै रेलको स्वामित्व नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गर्न नसकेको उनले बताए ।