राजविराज । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले स्थानीय तहले धमाधम प्रहरी भर्ना गरिसके, प्रदेशलाई त्यो अधिकार पनि छैन बताएका छन् ।
तेश्रो मधेश आन्दोलनका सहिद रामकृष्ण राउतको स्मृतिमा भारदहमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

संविधानमा संघियता शब्दको उल्लेख गरिए पनि जनताले चाहेको अधिकारसहितको संघीयता नेपालमा नआएको उनको जिकिर गरेका थिए ।
संघीयताको अनुभव गर्ने संरचनाहरुलाई निकम्मा बनाइएको र जनताले खोजेको अधिकार पनि नदिइएको उनले बताए। संघीयताको नाम मात्रै गाउँ गाउँ पुगेको तर अधिकार जति सिंहदरवारमा नै कैद गरिएको मन्त्री साहले भने ।

‘प्रदेश संरचना पूर्ण रुपमा निकम्मा बनाइएको छ । स्थानीय तहले जति अधिकार पनि प्रदेशलाई दिइएको छैन’ उनले भने–‘स्थानीय तहले धमाधम प्रहरी भर्ना गरिसके तर प्रदेशलाई त्यसको अधिकार समेत दिइएको छैन्।’

वास्तविक संघीयताका लागि पूनः अर्काे आन्दोलनको आवश्यक्ता रहेको पनि उल्लेख गरे । कार्यक्रममा दुईजना छात्रछात्रालाई नगद २ हजार ५ सयसहित सम्मान गरिएको थियो ।

शहीद रामकृष्ण राउत स्मृति प्रतिष्ठानद्वारा कंकालिनी माध्यमिक विद्यालयका छात्र आशिष कुमार मण्डल र विपी माध्यमिक विद्यालयकी छात्रा प्रियंका खेडवारलाई छात्रवृत्ति स्वरुप उक्त रकम उपलब्ध गराइएको थियो ।

छात्रवृत्ती वितरण गर्दै मन्त्री साहले भने प्रतिष्ठानलाई नगद ५१ हजार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रतिष्ठानका अध्यक्ष राजकुमार राउतको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्थमन्त्री साह, विशिष्ट अतिथि सामाजिक विकास मन्त्री नवलकिशोर साह, जसपाका राजनीतिक समिति सदस्य जगदेव यादव, संघीय परिषद् सदस्य श्यामदेव यादव, हनुमाननगर कंकालिनी नगरपालिकाकी उपमेयर सरिता सिपलिया, निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामसुन्दर मण्डल लगायतकाले शुभकामना दिएका थिए ।

उनीहरुले व्यवस्था परिवर्तनका लागि शहीद राउतले गरेको योगदानको चर्चा पनि गरे । तेश्रो मधेश आन्दोलनको क्रममा सप्तरीको भारदहमा प्रहरीको गोली लागेर २३ भदौ ०७२ मा ६० वर्षीय राउतको निधन भएको थियो । त्यस्तै, राउतको स्मृतिमा प्रतिष्ठानले प्रत्येक वर्ष भदौ २३ गते जेहेन्दार २ जना विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् ।