जनकपुरधाम। क्षीरेश्वरनाथ नगरपालिकामा उपप्रमुखको हठका कारण नगरपालिकाको काम प्रभावित भएको छ । असार १० गते नै सम्पन्न भएको नगरसभाको बन्दसत्र हुन नसक्दा सो पालिकाबाट सेवा प्रवाहमा समस्या भएको देखिएकाे  छ ।

उपप्रमुुखले विभिन्न योजनामा आफ्नो स्वार्थ पूर्ती नभएका कारण बन्दसत्र माइनेटमा हस्ताक्षर नगरेपछि सो पालिकाले अहिलेसम्म  बजेट चलाउन नसकेको नगरपप्रमुख सुखदेव यादवले गुनासो गरेका छन् ।

नगरपालिकाले बजेट चलाउन नसक्दा कुनै पनि योजना संचालनमा आउन सकेको छैन, नगरप्रमुख यादवले भने ‘उपप्रमुखले कांग्रेसको दूत भएर काम गरिरहेकी छन् उनकै स्वार्थका कारण हामी बजेट चलाउन अहिले असक्षम छौँ ।’

नगरपालिकाले यस अघिका नगरप्रमुखले राखेको करारका कर्मचारीहरुलाई हटाएपछि विवादको श्रृजना भएको हाे । उपप्रमुखले मैले भनेका कर्मचारीहरुलाई पुनः राख्नु पर्ने, आफूले ईच्छाएको योजना ल्याउनुपर्ने लगायतका अनर्गल माग गरेपछि नगरपालिकाको सम्पूर्ण काम प्रभावित भएको नगरप्रमुख यादवले बताए ।

नगर उपप्रमुखले श्रृजना गरेको यसै विवादका कारण कर्मचारीहरुले २ महिनाको तलब पाउन नसकेको गुनासो गरे । उनले भने ‘योजनाका विषयमा पछि सहमती गर्दै गरौँला, अहिले कम्तीमा कर्मचारीहरुको तलबकाे लागि वातावरण बनाइ दिनुस आग्रह गर्दुछु ।’

यता दुई महिनाको तलब पाउन नसकेपछि नगरपालिकामा कार्यरत कर्मचारीहरुले अविलम्ब तलब पाउने वातावरण बनाइ दिन भन्दै नगरप्रमुख यादवलाई ज्ञापन पत्र बुझाएका छन् ।

आफूहरुलाई घटस्थापना अघि तलब पाउने वातावरण नबनाए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने कर्मचारीहरुले चेतावनी दिएका छन् ।
नगरपालिकामा २० जना स्थायी कर्मचारी, २ सय ५० शिक्षक र ५० जना स्वास्थ्यकर्मी कार्यरत छन् ।