जनकपुरधाम । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट कारी यादव (मास्टर साहेब)ले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मंगलबार उनले जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा आफू प्रतिनिधिसभातर्फ उम्मेदवारी दिन लागेको जनाए ।

कमिसनखोर, भ्रष्टाचार र कुशासन तथा धर्म निरपेक्ष विरुद्ध गाउँदेखि सदनसम्म आवाज उठाउन उम्मेदवारी दिन लागेको उनले बताए ।
देशमा शिक्षाको अवस्था नराम्रा राजनीतिज्ञले खस्काएको भन्दै शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, धार्मिक एवं सामाजिक अवस्थालाई उकास्न उम्मेदवारी दिन लागेको उनको भनाइ छ । ‘देशको अवस्था वर्तमान समयमा चिन्ताजनक छ ।

कलकारखाना बन्द भएको छ,’उनले भने,‘शिक्षा स्वास्थ्यमा व्यापारीकरण भएको छ । यस्ता विकृतिविरुद्ध निर्वाचित भए सशक्त रुपमा आवाज उठाउने छु ।’

०२५ साल देखि मा.वि. स्तरमा प्रथम श्रेणीको शिक्षक भइ शिक्षण काम गरेका यादव यस पटक उम्मेदवार बन्न आकांक्षी छन् । उनी ०७० सालमा शिक्षण पेशाबाट अवकाश प्राप्त गरेका थिए । ०७४ को निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उमाशंकर अरगरिया निर्वाचित भएका थिए ।

यस पटक अरगरियाको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एकल नाम सिफारिस गरेको छ । यद्यपि उनी नेकपा एमाले प्रवेश गर्ने तयारीमा छन् । एमालेबाट गंगाराम यादवको एकल नाम सिफारिस भए पनि अरगरिया उम्मेदवार बन्न निश्चित जस्तै छ । आउदो शुक्रबार उनी औपचारिक रुपमा एमाले प्रवेश गर्ने कार्यक्रम राखिएको छ ।

यस्तै, यी क्षेत्रबाट नेपाली कांग्रेसले रामकृष्ण यादव र मोक्ता यादवको नाम सिफारिस गरेका छन् भने नेकपा एकीकृत समाजवादीबाट सम्भावित उम्मेदवारको रुपमा रामचन्द्र झाको नाम सिफारिस भएको छ । नेकपा माओवादी केन्द्रबाट योगकुमार बरबरिया यादव (श्रवण) को एकल नाम सिफारिस गरिएको छ ।