जनकपुरधाम । राजदेवी मन्दिरमा बली प्रदानको लागि रसिद काट्न सुरु, बोकाको टाउकाको मोल २ सय जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा बली प्रदानको लागि रसिद काट्ने कार्य सुरु भएको छ । राममन्दिरको प्राङ्गनमा रहेको गुठी संस्थानले बली प्रदानको लागि रसिद काट्ने कार्य बिहीबारदेखि थालेको हो ।
महाअष्टमी तिथि अर्थात आउँदो सोमबार राजदेवी मन्दिरमा बली प्रदानको कार्यक्रम छ । कालरात्री समेत भनिने महाअष्टमीको राति राजदेवी मन्दिरमा बोकाको बली प्रदान गर्ने चलन छ । यस वर्षको बली प्रदान कार्यक्रमको लागि रसिद काट्ने कार्य सुरु भइसकेको महावीर युवा कमिटीका अध्यक्ष बलराम साहले बताए । अध्यक्ष साहका अनुसार यस वर्ष टाउकोको मुल्य यथावत राखिएको छ ।
बोकाको टाउकाको मोल २ सय रुपैयाँ तोकिएको छ । गत वर्ष पनि दुई सय रुपैयाँ नै थियो । यस वर्ष पनि बली प्रदान गरिने बोकाको संख्या वृद्धि हुने अध्यक्ष साहले दावी गरे । गत वर्ष राजदेवी मन्दिरमा १४ हजार २४१ बोकाको बली प्रदान गरिएको थियो । हरेक वर्ष कालरात्रीमा ठूलो संख्यामा बोकाको बली दिने गरिएको छ । त्रेता युगमा मिथिलाका राजा जनकका कुलदेवता मानिने राजदेवी मन्दिरमा महाअष्टमी तिथिको राति हरेक वर्ष ठूलो संख्यामा बली दिने गरिन्छ ।
२०७७ सालमा भने कोरोना महामारीका कारण बली प्रदान गरिने बोकाको संख्या निकै घटेको थियो । कोरोना महामारीका कारण २०७७ मा बली प्रदान गरिने बोकाको संख्या ८ हजार ९६८ थियो । त्यसको अघिल्लो साल अर्थात् २०७६ मा १४ हजार ६३३ बोकाको बलि प्रदान गरिएको थियो।
राजदेवी मन्दिरमा वर्षभरिमा एक दिन मात्र बली प्रदान गरिन्छ । काठमाण्डौस्थित हनुमानढोकामा बली प्रदान भएपछि जनकपुरस्थित राजदेवी मन्दिरमा बोकाको बली प्रदान कार्यक्रम सुरु हुन्छ ।
२०७५ मा १४ हजार ९ सय ९७ बोकको बलि प्रदान गरिएको थियो । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा वर्षौदेखि महाअष्टमी रातीमा वलिप्रदानको परम्परा रहेको छ । बलि प्रदान गर्नका लागि मन्दिरको पछाडी भागमा ४ वटा ठेहा बनाउने छ, महावीरका अध्यक्ष साहले भने–यसको लागि छुट्टै समिति नै गठन गरिएको छ ।
राजदेवी मन्दिरका पुजारी राम गिरिले मनोबाञ्छित फल प्राप्त भएपछि बोकाको बली दिइने राजदेवीको परम्परा रहेको बताए ।
Discussion about this post