जनकपुरधाम ।  जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा बलिप्रदानको  सकिएको छ ।

यसवर्ष राजदेवी मन्दिरमा १४ हजार ९ सय ४१ बोकाको बलि दिइएको छ । निशा पूजा सम्पन्न भएलगत्तै सोमबार राति ८ बजेर ४१ मिनेटदेखि सुरु भएको बलिप्रदान मंगलबार बिहान ३ बजेर ५३ मिनेटसम्म चलेको थियो ।

बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालुभक्तजन सोमबार दिउँसैदेखि लाइनमा लागेका थिए । बलिप्रदानको कार्यक्रम बिहान ३ः५३ बजेसम्म चलेको स्थानीय महावीर युवा कमिटीका अध्यक्ष बलराम साहले बताए ।

बोकाबलिका लागि यसपालि ४ वटा  ठेहा राखिएको थियो भने प्रत्येक ठेहाका लागि १० जनाको समूहमा स्वयंसेवक परिचालित गरिएको थियो भने एक मिनेटमा एउटा ठेहामा ६ वटा गरी प्रतिमिनेट २४ वटा बोकाको बलि दिइएकाे हाे।

बलिप्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन ५ सयको संख्यामा स्वयंसेवक परिचालन गरिएको थियो । बोकाको लाइनसहित डोरी र व्यवस्थापनको लागि समेत प्रति ठेहा १० जना जनशक्ति खटाइएको थियो ।

राजदेवी मन्दिरमा यसअघि २०७८ सालमा १४ हजार ३ सय ६६ बोकाको बलिप्रदान गरिएको थियो ।