महोत्तरी : महोत्तरीमा मुख्य दलका शीर्ष नेताहरुले उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का उपमहासचिव गिरिराजमणि पोखरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

पोखरेलले महोत्तरी-१ बाट प्रतिनिधिसभा सदस्य पदका लागि दिउँसो २ बजे मनोनयनपत्र दर्ता गराउनुभएको हो । पोखरेल सत्तागठबन्धन दलका साझा उम्मेदवार हुनुहुन्छ । मनोनयनपत्र दाखिला गर्न नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का नेताहरु उपमहासचिव पोखरेलका साथ निर्वाचन अधिकृतको कार्यालय महोत्तरी-१ बर्दिबास पुग्नुभएको थियो ।

सोही क्षेत्रबाट नेकपा (एमाले)का तर्फबाट लक्ष्मी महतोले वारेसमार्फत मनोनयनपत्र दर्ता गराउनुभएको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले पुष्टि गर्नुभयो । यसैगरी महोत्तरी-१ ‘क’ प्रदेशसभाका लागि हालकै प्रदेशसभा सदस्य शारदा थापाले एमालेबाट र मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले महोत्तरी-१ ‘ख’ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

लोसपा नेपालका वरिष्ठ नेता शरत्सिंह भण्डारीले महोत्तरी-२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि आज अपराह्न नै मनोनयनपत्र दर्ता गराउनुभएको छ । जिल्लाका चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्रका लागि धमाधम मनोनयनपत्र दर्ता भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय महोत्तरी जलेश्वरले जनाएको छ ।