जनकपुरधाम : धनुषा क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्वमन्त्रीसँग प्रतिस्पर्धाका लागि स्वतन्त्र उम्मेदवारी परेको छ ।

मिथिला क्षेत्रका चर्चित हास्य कलाकार कृष्णकुमार महतोले धनुषा क्षेत्र नं ४ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । छोटो समयमै कलाकारिता क्षेत्रमा अब्बल अभिनयबाट चर्चा बटुलेका उनले प्रतिनिधिसभा सदस्यका लागि आईतवार मनोनयन दर्ता गराएका छन् ।

धनुषा ४ मा पूर्वमन्त्रीद्वय रघुविर महासेठ र महेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । महासेठ नेकपा एमालेबाट उम्मेदवार बनेका छन् भने यादव पाँच दलिय सत्ता गठबन्धनको साँझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसबाट मनोनयन दर्ता गरेका हुन् ।

यस्तै जनता समाजवादी पार्टीबाट महाजन यादवले उम्मेदवारी दिएका छन् । उनीहरुसँग प्रतिस्पर्धाका लागि कलाकार कृष्णकुमार महतो स्वतन्त्र रुपमा अघि सरेका छन् ।

बर्तमान राजनीति दल तथा तिनका नेताहरु राजनीतिलाई फोहरी खेल र धन्दा बनाएको भन्दै उनले सो विकृति विरुद्ध आफ्नो उम्मेदवारी रहेको तर्क गरे । उनी बटेश्वर गाउँपालिका वडा नं १ लक्ष्मीनिबास चित्रपुरका बासिन्दा हुन् ।

अप्पन टेलिभिजनको रोचकघोचक कार्यक्रमबाट चर्चित भएका उनले फिल्म, एल्बममा अभिनय गरेर चर्चा बटुलेका छन् भने थुप्रे नाटक खेलेका छन् ।