वीरगञ्ज । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीका तर्फबाट पर्सामा प्रदेश सभा सदस्यका लागि दुई जनाले चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

नेपाल सुशासन पार्टीका तर्फबाट पर्साको प्रदेश सभा निर्वाचन क्षेत्र ३ को (क) मा युवा नेता शीव कुमार साह र ३ कै (ख)मा गौरीशंकर साहले उम्मेदवारी दिएका छन् ।

जनता समाजवादी पार्टीमा लामो समयदेखि सकृय रहेका साहद्वयको नाम जसपा पर्साबाट सिफारिस भए पनि अन्तिम समयमा आएर जसपाको केन्द्रीय नेतृत्वले टिकट नदिएपछि दुबै जनाले नेपाल सुशासन पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रेका छन् ।

मधेश आन्दोलनका बेलादेखि नै सकृय रुपमा पार्टीमा लागेर मधेशीको हकहितका लागि आवाज उठाउँदै आएको र पार्टीको संगठन विस्तारका लागि दिनरात खट्दै आएको भए पनि अन्तिम समय आएर जसपा नेतृत्वले धोका दिएपछि सुशासन पार्टीबाट उम्मेदवारी दिनु परेको युवा नेता साहले बताए ।

जसपाले टिकट नदिएपछि विकल्प खोज्ने क्रममा भ्रष्टचार विरोधी र सुशासनको एजेण्डा बोकेर हिडेको एक मात्र दल सुशासन पार्टीलाई रोजेको युवा नेता साहले बताए ।

उम्मेदवारी दर्तापछि मतदातासंगको भेटघाटमा जादा सुशासन पार्टी प्रति जनलहर देखिएकोले आफूहरुको जित सुनिश्चित भएको महसुस हुन थालेको नेता साहले बताए ।