महोत्तरी : स्थानीय सरकार सञ्चालन ऐन र संघीय निजामती कर्मचारी ऐनका प्रावधान विपरीत महोत्तरीको औरही नगरपालिकाका प्रमुख प्रदीपकुमार खड्काले अन्यत्र कामकाजमा खटिइएका प्रमुख प्रशासकीय अधिकृतका नाममा खाता खुलाउने प्रयास गरेका छन् ।

प्रमुख खड्काले केही दिनअघि सिन्धुलीको कमलामाई नगरपालिकामा सरुवा भएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) सूर्यप्रसाद दाहालका नाममा खाता खुलाउन नगर कार्यपालिकाको बहुमतबाट निणर्य गरेका छन् ।

नगर कार्यपालिकाको सो निणर्यलाई भने कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) महोत्तरीले अस्वीकार गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ २१ गते नगरपालिकाका शिक्षा प्रशासन समूहका अधिकृत स्तर आठौँ तहका धीरेन्द्रलाल कणर्लाई आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।

मन्त्रालयले त्यसको एक दिनअघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा नगरपालिकामा हाजिर भएका उपसचिव दाहालको भने सोही दिन कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा कामकाजमा खटाएको थियो ।

कोलेनिका महोत्तरीले मन्त्रालयको पछिल्लोपत्र अनुसार आर्थिक तथा प्रशासनिक जिम्मेवारी पाएका कणर् र नगरपालिकामा कार्यरत लेखा अधिकृत मनोजकुमार महराको नाममा नगरपालिकाको खाता सञ्चालन गरेको छ ।

‘नगरप्रमुख खड्काले अन्यत्र कामकाजमा खटिइसकेका कर्मचारीलाई जबरजस्ती प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर गराइरहेका छन्,’ औरही नगरपालिकाका एक कर्मचारीले भने, ‘आर्थिक र प्रशासनिक अधिकारसहित नगरपालिकामा हाजिर भएका कणर्संग स्वार्थ नमिलेपछि प्रमुख खड्काले मन्त्रालयको निणर्यलाई अटेर गरी बसेका छन् ।’

निजामती सेवा नियमावलीको दफा ३९ मा कुनै पनि निजामती कर्मचारी सरुवा भएको रमाना पत्रमा तोकिएको समयभित्र हाजिर हुन जानुपर्ने उल्लेख छ र त्यसो नगरेमा विभागीय कारवाही हुने व्यवस्था छ । यसबीच निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई दृष्टिगत गरी गत असोज ९ गतेभित्र तीनै तहका सरकारका कर्मचारीलाई सरुवा वा कामकाजमा खटिएका ठाउँमा पठाउन निर्देशन दिएको छ ।

कर्मचारीलाईसमेत कामकाज गर्न निर्धारित ठाउँमा जान कडाइका साथ भनिएको छ । ‘तर उपसचिव दाहाल निजामती सेवा नियमावलीका प्रावधान र निर्वाचन आयोगको निर्देशन विपरीत नगरप्रमुख खड्काको आडमा पूर्ववत् कामकाज गरिरहेका छन्,’ कर्मचारीले भने ।

कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटिएका दाहाल औरही नगर कार्यपालिकाको बैठकमासमेत बसिरहेका छन् । स्थानीय सरकार सञ्चालन ऐनमा प्रमुख प्रशासकीय अधिकृत नगर कार्यपालिकाका सदस्य सचिव हुने व्यवस्था छ । कर्मचारी भन्छन्, ‘मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिसकेपछि अन्यत्र कामकाजमा पठाइ सकिएका प्रमुख प्रशासकीय अधिकृत दाहाल कार्यपालिका बैठकमा बस्नु विधि सम्मत होइन ।’

नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कामकाज गरिरहेका दाहालले नगर कार्यपालिकालाई आफू आवश्यक रहेकाले मात्र नगरपालिकामा बसिरहेको बताए ।

उनले भने, ‘यो लडाइँ कणर्जी र मेयरको छ । मैले आफूलाई यस लडाइमा कणर्जीको प्रतिस्पर्धी ठानेको छैन ।’

 

 

 

 कागजातहरू !

 

 

  •  प्रकाशित मिति : असोज १५, २०७९ शनिबार ९:५३:३,   अन्तिम अपडेट : असोज १५, २०७९ शनिबार ९:५५:२५