जनकपुरधाम। मधेश प्रदेश सरकारमा सत्ता गठबन्धनका दलबाट आवद्ध मन्त्रीहरुले राजिनामा नदिने भएका छन् ।

बिहिबार साँझ मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीहरुलाई फोन गरेर राजिनामा दिन आग्रह गरे पनि मन्त्रीहरुले राजिनामा नदिने मनस्थितिमा पुगेका हुन् ।

मुख्यमन्त्री राउतले नेपाली कांग्रेसबाट आवद्ध दलका मन्त्रीहरुलाई मात्रै फोन गरेर राजिनामा दिन भनेकाले आफूहरुले राजिनामा नदिने निर्णयमा पुगेको कांग्रेसका एक मन्त्रीले जानकारी दिए ।

श्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका मन्त्रीहरुलाई मात्रै फोन गर्न भनेकाले राजिनामा नगर्न निर्देशन दिएपछि मधेस प्रदेशका कांग्रेसी मन्त्रीहरु राजिनामा नदिने भएका हुन् ।

यता माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादी पार्टीबाट आवद्ध मन्त्रीहरुलाई राजिनामा गर्नका लागि मुख्यमन्त्री राउतले फोन नगरेको सो दलका मन्त्रीहरुले बताए । मुख्यमन्त्री राउत सत्ता गठबन्धन दलबाट आवद्ध मन्त्रीहरुले आज राजिनामा नदिए हटाउने तयारी गरिएको श्रोतले जनाएको छ ।