काठमाण्डु । शिक्षण पेशामा लामो अनुभव सँगालेकी छन्, एलसा झा। काठमाण्डुको भक्तपुरमा आफ्नै विद्यालय सञ्चालन गरेर पठनपाठनमा व्यस्त छिन्, उनी। नर्वेबाट उच्च शिक्षा हासिल गरेकी झा अहिले त्यहाँका विद्यार्थीहरूलाई पनि अध्यापन गराउँदै आइरहेकी छन्।

शिक्षण पेशमा आवद्ध झा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी-३ मा एकीकृत शक्ति नेपालका तर्फबाट उम्मेदवार बनेकी छन्। ‘हेभीवेट’ नेताहरू भीड रहेको त्यो क्षेत्रमा प्रतिस्पर्धामा उत्रिन कति सहज छ? शिक्षण पेशबाट राजनीतिमा किन आउनुपर्‍यो लगायतका विषयमा झासँग भएको गरेको कुराकानीः

शिक्षण पेशामा आवद्ध भएर पनि राजनीतिमा कसरी रूची जाग्यो?

राजनीतिमा हरेक मान्छेको रूची हुन्छ। देश भन्ने बित्तिक्कै राजनीतिको कुरा आइहाल्छ। हरेक नागरिकको रूची राजनीतिमा हुनुपर्छ भन्ने मलाई लागेको छ। रूचीभन्दा पनि जन्मिँदै पाएको कुरा हो यो।

तपाईंआवद्ध पेशाभन्दा राजनीति फरक कुरा होइन र?

मेरो पेशा भनेको शिक्षण हो। शिक्षा भनेको आमनागरिकको विकाससँग जोडिएको विषय हो। अहिलेको समयमा व्यक्तित्व विकास, आर्थिक विकास, शारीरिक विकासलगायतका सबै थोक शिक्षामै निर्भर हुने कुरा भइहाल्यो। आफ्नो पेशामा संलग्न भइरहँदा पनि मान्छे र समाजको विषमै कुरा गरिरहेका हुन्छौं। अभ्यास गर्ने थलो भनेकै समाज हो। त्यसले गर्दा मलाई धेरै फरक चाहिँ लाग्दैन। राजनीति भनेको सेवा हो। शिक्षण पेशा पनि सेवा नै हो।
राजनीतिकर्मीहरूले सेवा गरिरहेका छन् त अहिले?

कतिले गर्नुभयो होला तर ओझेलमा पर्नुभएको होला। ९० प्रतिशतले भने राजनीतिलाई काम बनाइदिनुभएको छ। कमाउने थलो बनाउनुभएको छ। त्यसलाई सेवा भन्न मिल्दैन।

सेवा भएको भए आज घरदैलो गरेर हिँड्नु पर्दैन थियो होला नि! पटक-पटक किन आफूलाई प्रमाणित गर्नु परिरहेको छ। २० औं वर्षदेखि मन्त्री भइसक्नु भएको छ, सांसद भइसक्नु भएको छ। र, पनि आफूलाई चिनाउन घरदैलो गर्नुपर्छ भने उहाँहरू जनमूखी हुनुहुन्छ कि होइन भनेर आफैं प्रष्ट हुन्छ।

राजनीतिक विकृत भएको हो?

राजनीतिको अभ्यास नै भएको छैन। हाम्रो देशमा भइरहेको राजनीति भनेको बाँडिचुँडी खाने माध्यममात्रै बनेको छ। जनतालाई आफ्नो दिनचर्या, छोराछोरीको पालनपोषणभन्दा अरू थोक गर्न फुर्सदै छैन।

तपाईं त्यसो गर्नु हुन्न भनेर त्यसको के ग्यारेन्टी छ?

मैले किन गर्नुपर्‍यो त्यस्तो। म अलरेडी समाजसेवी मान्छे हो। म शिक्षक हो। मेरो क्षमता र मेरो सीप भनेको एडभोकेसी र मान्छेलाई अवेयरनेस गराउने हो। मैले आफ्नो लागि अलरेडी एउटा जागिर बनाएकै छु। म नेपालमा मात्रै पढाउँछु भन्ने कुरा पनि होइन। यो पेशमा मेरो लिमिट छैन। कुनै एउटा संस्थाले बाँधेको पनि छैन। जागिर मेरो आफ्नो ठाउँमा छँदैछ। भोलिको दिनमा मलाई चुनेर त्यहाँका जनताले पठाए पनि शिक्षण पेशाम छोड्दिन। स्कुल कलेजमा गएर पढाइरहने छु। मान्छेले देख्ने छन्। त्यो भएन भने भोकै भइहाल्छु। जनताको पैसा जनतासम्म पुग्नुपर्छ भन्ने मेरो मान्यता हो।
पछिल्लो समय राजनीतिको अभ्यास बिग्रिँदै गएकै कारण अहिले ठाउँठाउँबाट परिवर्तनको आवाजहरू उठिरहेका छन्। युवा र नयाँ पिढीलाई अवसर दिनुपर्ने कुराहरू आइरहेका छन्।

महोत्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनुभएको छ। त्यो क्षेत्र नै रोज्नुपर्ने कारण के थियो?

महोत्तरी नै मेरो मातृभूमि हो। मेरो ठाउँ हो। मेरो माइतीघर हो। पढाइको क्रममा एक ठाउँबाट अर्को ठाउँमा जाने क्रम चलिरहन्छ। स्वच्छ निजामती कर्मचारीको बच्चा भएकोले उहाँको सरूवा हुँदा नेपाल दर्शन चाहिँ गरिसकेको छु। धेरै ठाउँका मानिसहरूको रहनसहन, सामजिक स्थिति राम्ररी बुझेको छु।

एउटा किताबी अध्ययन हुन्छ। एउटा अवलोकनबाट हुन्छ। निजामती कर्मचारीको छोरी भएकोले मैले यो सौभाग्य पाएको छु।

माइती भएपछि भावनात्मक लगाव हुन्छ। अर्को भनेको सहरमा गर्ने थुप्रै मान्छेहरू छन्। जहाँ चाहिएको छ त्यहाँ काम हुनसकेको छैन। महोत्तरीलाई हेर्दा अवस्था कमजोर र दयनिय पाएको छु। त्यो देखेपछि यसपटक त्यहाँबाट चुनाव लड्ने जमर्को गरेको हुँ।

मैले नै सारा परिवर्तन गर्नसक्छु भनेर त भन्दिनँ। तर, एक जनाले आवाज उठाएपछि अरूले पनि यो कुरा मनन गर्नुहुन्छ भन्ने मलाई लागेको छ। ३० वर्षभित्र जो आए पनि यस्तै हो भन्ने कुरा जनताले एडप्ट गरिसकेका छन्।

जनकपुरधामसँग टाँसिएर पनि महोत्तरी त्यति विकास गर्न सकेको छैन। यो कुराले पीडा भयो। मधेस प्रदेसमा ८ वटा जिल्ला छन्। मेरो प्रश्न के हो भने तीमध्ये कतिवटा जिल्लाले विकास गरेको छ? न कृषि योजना छ, न शिक्षाकै गुणस्तर राम्रो छ। स्वास्थ्यको अवस्था पनि उस्तै छ।

महोत्तरी क्षेत्र नम्बर ३ लाई विकास गर्न तपाईंले केही योजना बनाउनु भएको छ?

त्यहाँका मतदाताले मलाई निर्वाचित गरेर पठाए पनि वा नपठाए पनि जागरूक बनाउने मेरो अभियान जारी नै रहन्छ। हामीले गर्ने भनेको पहिलो काम फिजिओलोजिकल निडमै हुन्छ। महोत्तरीको हरेक व्यक्तिले राम्रो खाना खान पाओस, स्वास्थ्य र शिक्षाको अवस्था राम्रो होस्। त्यहाँका मान्छेले चाहिएको बेला सुलभ ढंगबाट स्वास्थ्य सेवा पाओस्। हाम्रो पहिलो काम हुनेछ।

त्यसपछि कृषिलाई सुधार गर्न हामीले विशेष कार्यक्रम ल्याउने छौं। कहिले मलको कमी गरिदिने, कहिले बिऊको कमी गरिदने कामहरू भइरहेका छन्। खाने कुरामा पनि राजनीति भइरहेको छ। यस्ता विकृतिहरू अन्त्य गर्न हाम्रो प्रयास हुनेछ।

तपाईंले उम्मेदवारी दिनुभएको निर्वाचन क्षेत्रमा ‘हेभीवेट’ नेताहरू पनि चुनाव लडिरहनुभएको छ। उहाँहरूसँग प्रतिस्पर्धा गर्नसक्नु हुन्छ?
म त उहाँहरूको ताजको गजुर हुन्छ नि, मुकुटको मणि। म आफूलाई त्यहाँ देख्छु। मलाई प्रतिस्पर्धा अनुभव नै भएको छैन। प्रतिस्पर्धा को सँग गर्ने? उहाँरूको आफ्नै लेभेल छ प्रतिस्पर्धाका लागि। उहाँहरू मेरो प्रतिस्पर्धी हुनुहुन्छ भनेर मैले ठानेकै छैन।

लोसपाका अध्यक्ष महन्थ ठाकुर आफैं त्यो क्षेत्रबाट चुनाव लडिरहनुभएको छ नि?

हो। उहाँ चुनाव लडिरहनुभएको छ। तर, मैले आफ्नो प्रतिस्पर्धी पाएकै छैन। उहाँलाई मैले पूज्यनीय भनौंला। अहिलेसम्म नपाएको अवस्थामा जनताले उहाँलाई संरक्षकको स्थान दिएको थियो। तर, उहाँले भएभरको जनतालाई बिर्सनुभएको छ। आफ्नो घरलाई मात्रै सम्झिनुभएको छ।

उमेर बढ्दै गएपछि मान्छेको सोच्ने क्षमता पनि कम हुँदै जान्छ। विज्ञानले नै भनेको हो यो। आमबुबा बुढो भएपछि बच्चाहरू स्वयं विवेकी भएर आफैं अग्रसर हुनुपर्छ। आमाबाबुसँग के को प्रतिस्पर्धा?

उहाँले आफ्नो घरमात्रै हेर्नुभयो। लोकतन्त्रको बेला जनताबाट छान्नुपर्ने व्यक्तिको सट्टा परिवारबाटै छान्नुभएको छ। यो भन्दा अर्को उदाहरण अरू के हुन्छ।

मैले उहाँलाई चुनौती पनि दिएको छैन। उहाँले आसनग्रहण गरेर सम्मानपूर्वक बस्दा उपयुक्त हुन्छ। उहाँको ठाउँमा हामी काम गर्छौं। मैले उहाँलाई भन्दै छु त पिता सरह मान्छे। उहाँ मेरो प्रतिस्पर्धी हुँदै होइन। जहिल्यै पनि मेरा लागि उहाँ सम्मानित व्यक्ति हुनुहुन्छ। तर, उहाँहरूबाट कन्ट्रोल सिस्टम हराएको छ।

कसरी कन्ट्रोल सिस्टम हरायो भनेर भन्नु हुन्छ?

केही चिजको सुरूवात हुँदा त्यसको पछाडि एउटा सोच पक्कै पनि हुन्छ। त्यो सोच के थियो भने मधेसलाई पनि हेर्नुस् भनेर केन्द्रलाई झकझकाउने काम भएको होला। तर, अभ्यासमा अर्कै रूप लिइदियो। जुन उहाँको हातबाट फुत्किएको छ।

उहाँको हातबाट कन्ट्रोल सिस्टम नै हराएको छ। सुरूवातका बेला सबैले उहाँलाई साथ दिएकै हो। तर, सिस्टम, एप्रोच र थ्योरी जुन उहाँले निकाल्नुभयो अभ्यासमा त्यो अर्कै भइदियो।

समाज परिवर्तनशील छ। समाज परिवर्तन भइरहने हुनाले सिद्धान्तमा पनि परिवर्तन आउनुपर्दछ। ती परिवर्तनहरूलाई उहाँले अँगालेको जस्तो मलाई लागेको छैन।

तपाईंले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र घुम्नु भएको छ?

सम्पूणर् क्षेत्रको कुरा गर्ने हो भने म एकदम इमानदारीपूर्वक भन्छु घरघरसम्म पुग्न सकेको छैन। तर, जुन टेरिटोरी पर्छ त्यहाँसम्म पुगेको छु।
त्यहाँका मतदाताहरूको बुझाइ कस्तो पाउनुभयो?

एउटा इमोसनल अट्याचमेन्ट देखेँ। ह्युम्यान साइकोलोजीले के भन्छ भने १५ दिनसम्म लगातार एउटा मान्छे भेट्नुभयो भने अट्याचमेन्ट सुरू हुन्छ। भनेपछि उहाँहरूले धेरै बिताउनुभएको हो नि।

देउताको दर्शन सँधै हुन्छ। जो नेता जनमूखी हुन्छन्, उसको दर्शन सँधै हुन्छ। तर, देउताको दर्शन कहिले काहिँ हुन्छ, मन्दिरको पट खुलेपछि। अनि माग्न जाने देउता कहाँ। यो पनि गलत सिकाइ हो। आफ्नो आमाबुबासँग माग्नु पर्दैन। आमबाबुलाई पनि थाहा हुन्छ यो मेरो सन्तान हो, उसलाई मैले दिनुपर्छ।

काम गर्न युवाहरू परिचालन होस् भनेर त्यहाँका जनताले चाहेका छन्। उहाँहरूकै चाहनाअनुसार काम गर्न हामी अग्रसर हुँदैछौं। म धेरै ठूलो कुरा गर्दिनँ। तर, त्यहाँ केही राम्रो होस् भन्ने चाहेका छौं। नेपालको अरू ठाउँका लागि पनि महोत्तरी ३ नमूना बनाउने हाम्रो प्रयास हुनेछ।

सत्ता गठबन्धनका साथै एमाले-जसपा गठबन्धनले पनि त्यहाँ आफ्नो उम्मेदवार दिएको छ। अरू पनि स्थापित उम्मेदवारहरू

त्यो क्षेत्रबाट प्रतिस्पर्धा गरिरहेका छन्। तपाईं आफ्नो उम्मेदवारीलाई कहाँ हेर्नुहुन्छ?

यो जुन गठबन्धन भएको आ-आफ्नो कुर्सी जोगाउने अभियान हो। जनता फेरि पनि मुर्ख बनाइँदैछ। यो कुर्सी जोगाउने अभियानमा सबै लागेका छन्।

एउटा खास उद्देश्यका साथ मधेसवादी दलहरूको गठन भएको थियो। त्यसो भए उनीहरूलाई किन छुट्टै किसिमको सहारा चाहियो त?

कुनैबेला कांग्रेस, एमाले, माओवादीको विरोध गर्ने दलहरूसँगै अहिले आफूलाई मधेसवादी दलहरूले तालमेल गरेका छन्। यो सरासर जनतालाई ठग्ने काम भइरहेको छ। एजेन्डा र विचार भइदिएको भए, जनताको पक्षमा काम गरिदिएको भए आज उहाँहरूलाई अरू दलको सहारा लिनुपर्ने जरूरी नै थिएन।

जनतालाई ठग्ने काम भइरहेको छ। मतदाताहरू सचेत भइसक्नुभएको छ। उहाँहरूले सबैथोक राम्ररी बुझ्नु भएको छ।