महाेत्तरी । ट्राफिक प्रहरी महोत्तरीको कारबाही बढे पनि दुर्घटनामा भने न्यूनीकरण आउन सकेको छैन। साउन यता मात्र १६ जनाले ज्यान गुमाएका छन् भने ३ दर्जन भन्दा बढी दुर्घटना भएका छन्।

विशेषगरी जिल्लाको पूर्व-पश्चिम राजमार्ग, सम्सी सडक खण्ड तथा औरही-जलेश्वर सडक खण्डमा दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ।

ट्राफिक कार्यालय महोत्तरीको तथ्यांकअनुसार असोज महिनामा मात्र १० जनाले ज्यान गुमाए। तीव्र गति, मदिरा सेवन जस्ता दुर्घटनाका मुख्य कारक रहेको ट्राफिक कार्यालयका प्रमुख उदय सिंह सिजापति बताउँछन्।

साउन महिनामा ३ जना र भाद्र महिनामा पनि तीन जनाले ज्यान गुमाएका छन् भने घाइते हुनेको संख्यासमेत अधिक छ।

ज्यान गुमाउनेहरूमा दुई जना महिला बाहेक अधिकांश पुरुष छन्। असोज महिनामा मात्र दुर्घटनामा परी दुई जना महिलाको ज्यान गयो।

दुर्घटना कै कारण २२ जना गम्भीर घाइतेसमेत भएका छन्। साउन महिनामा ७ जना, भदौ महिनामा ९ जना र असोज महिनामा ६ जना गम्भीर घाइते भएको कार्यालय प्रमुख सिजापतिको भनाइ छ।

त्यसैगरी सामान्य घाइते हुनेको संख्यासमेत अधिक छ। विभिन्न सडक खण्डमा भएको दुर्घटनामा ३५१ जना सामान्य घाइते भएका छन्।

यता प्रहरीले नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही प्रक्रिया समेत तीव्र बनाएको छ। तर, दुर्घटना न्यूनीकरणमा भने खासै प्रभाव परेको देखिएको छैन।

साउनदेखि यता प्रहरीले २०४१ वटा ट्रक, २५३ वटा बस, १८९७ वटा जिप कार, २४६ वटा मोटरसाइकल, ३२९६ वटा ट्याक्टर र १६६ वटा टेम्पोलाई कारबाही गरेको छ। कारबाही परेका सवारीसाधनबाट झण्डै ५४ लाख राजस्व उठेको कार्यालय प्रमुख सिजापतिले जानकारी दिए।