जनकपुरधाम, कार्तिक १५ गते ।

सर्लाहीमा चुनावी प्रचारप्रसारका लागि प्रयोग भएको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सर्लाही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार महेन्द्र राय यादवको चुनावी प्रचारमा हिँड्ने स्कार्पियो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

नम्बर खुल्न नसकेको सेतो रंगको गाडीले सखुवामा ज १० प १३0८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भारतको सोनबरसाका २२ वर्षीय नेक महमद ‌र मलंगवा गरपालिका–९ का एकरामुल साफीका १० वर्षीय छोरा असलम साफी घाइते भएका थिए ।

घाइते दुबै जनालाई उपचारका लागि मलंगवा लगिएको थियो । घाइते नेक महमदको उपचारकै क्रममा मृत्यु भएको छ । साफीको उपचार जारी छ ।

ठक्कर दिने गाडी उम्मेदवार यादवको रहेको भन्दै उनीविरुद्ध मलंगवाको सहिद चोकमा प्रदर्शन गरिएको छ ।

घाइतेका आफन्त र स्थानीयले उम्मेदवार यादव र माओवादीविरुद्ध नाराबाजी गर्दै दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादव माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा छन् ।