जनकपुरधाम । निर्वाचन आयोगले सरकारी कर्मचारी कुनै दल वा उम्मेदवारको प्रचार प्रसारमा जान रोक लगाएपनि धनुषामा सरकारी कर्मचारीहरुनै प्रचारप्रसारमा खटेको पाइएको छ ।

प्रदेश सरकारले राजनीतिक नियुक्त दिएका दुई कर्मचारी सामाजिक सञ्जाल र भौतिक रुपमै उपस्थिति भएर उम्मेदवारका लागि मत माग्ने गरेको पाइएको छ । मधेश प्रदेश सरकारका वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयका स्वकीय सचिव प्रेमचन्द्र झा र चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डका सदस्य पुष्पा यादव उम्मेदवारको लागि मत माग्ने गरेको पाइएको छ ।

झा प्रदेशसभाका उम्मेदवार जितेन्द्र यादव र पुष्पाले ज्ञानेन्द्र यादवको लागि मत माग्ने गरेको र घरदौलो कार्यक्रममा भौतिक रुपमानै उपस्थित हुने गरेका छन् ।

उनीहरुले सामाजिक सञ्जालसहित घरदैलोमा समेत पुग्ने गरेका छन् । ज्ञानेन्द्र यादव धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ मा प्रदेशसभा सदस्य पदका उम्मेदवार छन भने जितेन्द्र यादव धनुषा ३ को ‘क’ मा उम्मेदवार छन् ।

यी दुबै जना जसपाका उम्मेदवार छन् । निर्वाचन आचारसंहितामा नेपाल सरकारका कुनै पनि कर्मचारीले पदमा रहँदा कुनै पनि राजनीतिक दलको खुलेर विरोध वा समर्थन गर्न नपाउने व्यवस्था गरेको छ । सो नियम विपरित झा र यादव प्रचार प्रसारमा जुटेका छन् ।

यादवलाई बोर्डको सदस्यमा ०७८ बैशाख दोस्रो साता र झालाई गत असोज दोस्रो सातामा नियुक्ति दिइएको थियो । झा मन्त्री नरहेको मन्त्रालयका स्वकीय सचिव छन् । यी मन्त्रालय सुरुवाती समयदेखि नै मुख्यमन्त्री लाल बाबु राउतकै मातहतमा छन् ।

मंगलबार निर्वाचन आयोगले सप्तरीको राजविराज नगरपालिकाका शाखा अधिकृत मनोजकुमार यादवलाई स्पष्टीकरण सोधेका छन् । उनलाई प्रतिनिधिसभाका उम्मेदवार उपेन्द्र यादवको प्रचारप्रसार गरेको उजुरी र प्रमाणको अधारमा स्पष्टीकरण सोधेको छ । तर यी झा र यादवको विरुद्धमा कसैले उजुरी नगर्दा खुलेयाम मत माग्दै हिडिरहेका छन् ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सो मा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन ।

सोही दफाको खण्ड (ख) अनुसार निजहरुले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला, गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन हुँदैन भन्ने ब्यवस्था रहेको छ ।