जलेश्वर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई महोत्तरी जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर- ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका रामआधार कापरले यस पटकको निर्वाचनमा चुनौती दिएका छन् ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर-३ बाट २०७४ को निर्वाचनमा चुनाव जित्नुभएको लोसपा अध्यक्ष ठाकुरको विरुद्धमा यसपालीको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनुभएको रामआधार कापरले आज जिल्ला सदरमुकाम जलेश्वरमा सबैभन्दा पहिले चुनावी सभा गर्नुहुँदै ठाुकरलाई चुनौती दिएका छन् ।

लोसपा अध्यक्ष ठाकुर जितेर गएपछि पाँच वर्षसम्म कुनै पनि जनताको सुख दुःख बुझ्न नआएको जिल्ला सदरमुकाम जलेश्वर समेटिएको निर्वाचन क्षेत्र नम्बर ३ को विकासलाई निक्कै पछाडि पारेको तथा कुनै पनि उल्लेखनिय कामकाज नगरेको आरोप लगाउँदै स्वतन्त्र उम्मेदवार कापरले उहाँलाई यसै मञ्चमा आएर आफूले गरेको विकासको बारेमा जनतालाई सुनाइदिन चुनौती दिएका थिए ।

पाँच वर्षसम्म यस क्षेत्रका जनतालाई ठगेका ठाकुरलाई यस पटक यहाँको जनताले भोट नदिने दावी गर्नुभयो ।

उहाँले आफ्नो कुनै पनि व्यक्तिगत स्वार्थ नरहेको, यस क्षेत्रको चौतर्फी विकासका लागि कुनै पनि पार्टीको दबाब तथा प्रभावमा नपरेर निर्धक पूर्वक संसदमा आवाज उठाउने र विकास गर्ने भन्नुहुँदै यस क्षेत्रका जनतालाई आफूलाई जिताउन आग्रह गर्नुभयो ।

स्वतन्त्र उम्मेदवार कापरले लोसपा अध्यक्ष ठाकुर आफू हार्ने भयले नै यस पटक गठबन्धनको उम्मेदवार बनेर यहाँ आएको आरोप लगाउँदै जनतालाई ठगेको ठाकुरलाई यस पटक जनताले पनि गठबन्धन गरेर हराउने तर्क दिनुभयो ।

साथै आफू केही नभएपनि सधैं जनताको साथ र सहयोगमा सक्रिय रहेकोले आफूलाई जनताले (माछा छाप) मा मत दिएर जिताउने विश्वास व्यक्त गर्नुभयो ।