मलंगवा । मधुमाला यादव आसन्न निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार छन् । २६ वर्षीय मधुमाला महिला नेतृत्वको आवश्यकता औल्याउँदै स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

उनी अहिले क्षेत्रमा मत माग्न व्यस्त रहेकी छन् । दुई गठबन्धनसहित १९ जना पुरुष उम्मेदवारसँग प्रतिस्पर्धामा उत्रेकी उनी आफूलाई बलियो उम्मेदवारको रुपमा दाबी गरिरहेकी छन् । उनी विजयी हुनेमा विश्वस्त छन् । तर यस क्षेत्रमा कुन उम्मेदवार विजयी हुने आकलन गर्न कठिन छ । किनभने यहाँ प्रतिस्पर्धा रोचक छ ।

प्रभावशाली नेताहरु चुनावी मैदानमा छन् । नेपाली कांग्रेसले टिकेट नदिएपछि निर्वतमान सांसद अमरेश सिंह पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् भने अर्को तर्फ दुई गठबन्धनका बलिया उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।

पाँच दलीय गठबन्धनबाट कांग्रेसका नागेन्द्र राय र नेकपा एमाले-जसपा गठबन्धनबाट जसपाका राकेश मिश्र पनि जित निकाल्न कसरत गरिरहेका छन् । प्रमुख यी उम्मेदवारहरु भए पनि कुल ९ जना दलबाट र ११ जना स्वतन्त्र गरी यहाँ २० जना उम्मेदवार चुनावी मैदानमा छन् । तर मधुमाला यहाँ महिलाको रुपमा एकल उम्मेदवार छन् ।

विगतमा पुरुष नेता धेरै पटक जितेर गए पनि यहाँ खासै परिर्वतन नभएपछि सरकारी जागिर छोडेर राजनीतिमा आएको उनी बताउछिन् । ‘कयौ पटक यहाँबाट नेताहरु जितेर गए पनि समस्या उस्तै छ,’उनले भनिन्,‘महिला, गरिब विपन्न र विकासको क्षेत्रमा कामै भएको छैन् । शिक्षा र स्वस्थ्य त झन बिग्रेको छ ।’

यस क्षेत्रको समग्र विकासको लागि महिला र युवा नेतृत्व आवश्यक रहेको हुनाले उम्मेदवारी दिएको उनले बताइन् । तर, उम्मेदवारी मधुमालाले दिए पनि उनको बुबा शिवपुजन रायले राजनीति रहेको कतिपयको बुझाइ छ ।

उनको प्रचारप्रसार सामग्रीमा पनि शिवजुजनको फोटो र नाम राखिएको छ । बुबाकै नाममा मधुमालाले मत माग्ने गरेका छन् । शिवपुजन नेकपा माओवादी केन्द्रका नेता छन् । ०७४ को निर्वाचनमा माओवादीबाटै टिकट पाएका थिए ।

तर रातो पासपोर्ट दुरुपयोग प्रकरणमा मुछिएपछि सर्वोच्च अदालतले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । ०६४ को संविधानसभा चुनावमा उनी तत्कालीन मधेशी जन अधिकार फोरमबाट निर्वाचित भएका थिए । उनको श्रीमती मीनादेवी यादव यस पटक पनि नेकपा माओवादी केन्द्रबाट नै समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश छ ।

गएको स्थानीय निर्वाचनमा पनि उनको २२ वर्षीया छोरा राजाबाबु यादव माओवादीबाट नै रामनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

मधुमाला माओवादीको पनि मत पाउन आशमा छन् । यस क्षेत्रमा ५० वटा वडा पर्छन् । जस मध्ये ११ वटा पालिका माओवादी केन्द्रले जितेका छन् । यहाँ माओवादीले १८ हजार ६६५ मत ल्याएका छन् ।

६ पालिका पर्ने यस क्षेत्रका दुई पालिका प्रमुख र उपप्रमुखमा पनि माओवादीकै पदाधिकारी छन् । यी अधारमा मधुमाला पनि बलियो उम्मेदवार नै देखिन्छ ।

वडाको मत केलाउँदा कांग्रेसको २३ हजार १३१, लोसपाको १४ हजार ७३१, एमालेको ११ हजार ६७४, जसपाको ६ हजार ४३३, जनमत पार्टीको २ हजार ६१२ र एकीकृत समाजवादीको ६०९ मत आएको थियो ।