जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री तथा धनुषा-४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले जेष्ठ नागरिक भत्ता ६५ वर्षमै दिने बताएका छन् ।

सोमबार धनुषाको मिथिला नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्दै नेता यादवले सत्तागठबन्धनको जित भए जेष्ठ नागरिक भत्ता ६५ वर्षमा झारिने जानकारी दिए ।

७० उमेर पार गरेका जेष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आएकोमा सत्तागठबन्धनको सरकारले ६८ वर्षपछि नै दिन थालेको बताउँदै उनले वृद्धभत्तासमेत बढाउने बताए ।

कांग्रेस नेतृत्वको सरकारले चालू आर्थिक वर्षको बजेटदेखि ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई वृद्धभत्ता दिँदै आएको छ । सत्तागठबन्धनको जित भए ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमा झारिनेछ, नेता यादवले भने ।

ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमै झारिने कुरा नेपाली कांग्रेसको घोषणपत्रमै उल्लेख गरिएको जानकारी दिँदै नेता यादवले कांग्रेसले ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरे ।

त्यस्तै ७३ वर्ष पुगेकाहरुको उपचार निःशुल्क गर्ने घोषणा पनि गरेको बताए ।