जनकपुरधाम, ४ मंसिर । धनुषा जिल्लाका चारवटै निर्वाचन क्षेत्रहरूको मतगणना फरक–फरक चार ठाउँमा हुने भएको छ ।

जिल्लाको क्षेत्र नम्बर–१ को सबैलामा, क्षेत्र नम्बर–२ को औरहीमा, क्षेत्र नम्बर–३ को जनकपुरधाममा र क्षेत्र नम्बर–४ को महेन्द्रनगरमा मतगणना हुने धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

उनले सबै मतगणनास्थलहरूमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको बताए ।

मुख्य निर्वाचन अधिकारी प्याकुरेलले मतपेटिका संकलनको काम भइरहेको र सम्पूर्ण प्रक्रिया पूरा गरी आजै रातिबाट मतगणना सुरु गर्ने तयारी भइरहेको जानकारी दिए ।

मतदान सकिएर मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि सर्वदलीय बैठक गरेर आजै रातिदेखि मतगणना सुरु गरिने भएको छ ।

मतगणनाको लट लटको परिणाम सार्वजनिक गर्नका लागि माइक तथा स्पिकर पनि राखिएको उनले बताए ।