जनकपुरधाम । मधेश प्रदेशसभामा यसपटक फरक दल, फरक समुदाय,फरक उमेर र फरक वर्गको प्रतिनिधित्व देखिने भएको छ । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ जना र समानुपातिक ४३ जना गरी जम्मा एक सय सात सदस्यीय सांसद चुनिने व्यवस्था रहको छ ।

अघिल्लो निर्वाचनमा चुनिएका कतिपय सांसद यसपटक पनि पुनःदोहोरिएका छन भने संसद्को पहिलो अनुभव लिन नयाँ अनुहारको समेत उल्लेख्य संख्यामा प्रदेशसभामा प्रवेश पाउने भएको छ ।

एक कार्यकाल मुख्यमन्त्रीका रुपमा सरकार सञ्चालन गरी सकेका लालबाबु राउत फेरि दोहोरिएका छन् । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय नेतासमेत रहेका उनी पर्सा क्षेत्र नं १ (२) बाट निर्वाचित भएका छन् ।

कांग्रेस नेता रामसरोज यादव धनुषा क्षेत्र नं ३ (१) बाट फेरि प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । रामसरोज यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत भइसकेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनल पनि बारा क्षेत्र नं ४ (२) बाट दोस्रो पटक निर्वाचित भएका छन् । सोनल मधेश प्रदेशमा भौतिक पूर्वाधार तथा विकासमन्त्री भइसकेका छन् ।

त्यस्तै,पर्सा क्षेत्र नं २ (२) बाट लोसपाकै रमेशप्रसाद कुर्मी पनि फेरि निर्वाचित भएका छन् । उनी २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट निर्वाचित भएका थिए । पर्साकै क्षेत्र नं ४ (१) बाट कांग्रेसका शंकरप्रसाद चौधरी पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । दोस्रो पटक निर्वाचित हुनेमा रौतहट-४ (२) बाट जसपाका शेष अबुल कलाम आजाद पनि छन् ।

यसैगरी,सर्लाहीबाट चार जना प्रदेश सांसद दोस्रो पटक निर्वाचित भएका छन् । सर्लाही क्षेत्र नं १ (१) बाट लोसपाका उपेन्द्र महतो र (२) बाट वेंची लुङेली, क्षेत्र नं ३ (२) बाट जसपाका सञ्जयकुमार यादव तथा क्षेत्र नं ४ (१) बाट कांग्रेसका वीरेन्द्रप्रसाद सिंहले प्रदेशसभामा पुनः निर्वाचित भई सिट सुरक्षित गरेका छन् । कांग्रेसका सिंह यसअघि प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीसमेत भइसेका छन् ।

त्यस्तै,महोत्तरी क्षेत्र नं ३ (१) मा लोसपाबाट उम्मेदवार बनेका अभिराम शर्मा र ३ (२) बाट रानी शर्मा पुनःनिर्वाचित भएका छन् । अभिराम शर्माले सामाजिक विकास राज्यमन्त्री को समेत जिम्मेवारी सम्हालेका थिए । उनी मधेश प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिनु भएको जसपाका दीपेन्द्र झालाई झिनो मतले पराजित गरेका छन् । धनुषा क्षेत्र नं २ (२) मा जसपाका रामअशिष यादव पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । सप्तरी क्षेत्र नं ३ (१) मा कांग्रेसका मोहम्मद समिम पनि दोस्रो पटक निर्वाचित भएका छन् ।

पर्सा क्षेत्र नं १ (१) बाट निर्वाचित माओवादी केन्द्रका रहवर अन्सारी, पर्सा क्षेत्र नं २ (१) बाट निर्वाचित कांग्रेसका श्यामप्रसाद पटेल, पर्सा क्षेत्र नं ३ (२) बाट जितेका कांग्रेसका जनार्दन सिंह क्षेत्रीको प्रदेशसभामा यो पहिलो यात्रा हो । यस्तै बारा क्षेत्र नं ३ (१) बाट निर्वाचित एमालेको रवीन्द्र दास श्रेष्ठ, बाराकै क्षेत्र नं ४ (१) बाट निर्वाचित एमालेका देवनारायण थारू पनि प्रदेशसभाका लागि नयाँ अनुहार रहेका छन् ।

रौतहटमा प्रदेशसभामा निर्वाचित सातमध्ये छ नयाँ छन् । क्षेत्र नं १ (१) बाट नागेन्द्र साह र (२) बाट कृष्णप्रसाद यादव निर्वाचित निर्वाचित भएका छन् । कांग्रेसका दुबै नेताको पनि यो प्रदेशसभाको पहिलो यात्रा हो । कृष्ण यादव कांग्रेसका प्रदेश सभापति पनि छन् । क्षेत्र नं २ (१) मा एमालेका मोहम्मद जैद आलम, क्षेत्र नं २ (२) बाट निर्वाचित कनिश पटेल, क्षेत्र नं ३ (१) मा स्वतन्त्र उम्मेदवार केशव राय र क्षेत्र नं ४ (१) मा निर्वाचित माओवादीका युवराज भट्टराई पनि नयाँ छन् ।

यसैगरी,सर्लाही-४ (२) मा माओवादीका फकिरा महतो र धनुषा-२ (१) मा एमालेका लखन दास तत्मा निर्वाचित हुँदै पहिलो पटक सांसद बनेका छन् । सप्तरीका छ स्थानको नतिजा आउँदा प्रदेशसभा पुग्ने पाँच नयाँ छन् । यसमध्ये चार जनमत पार्टीका छन् । क्षेत्र नं ३ (२) मा शम्भुकुमार साह, क्षेत्र नं २ (१) मा सतिशकुमार सिंह, क्षेत्र नं २ (२) मा महेशप्रसाद यादव र क्षेत्र नं १ (२) मा सकिल मियाँ निर्वाचित हुनुभएको छ । क्षेत्र नं १ (१) मा जितेका एमालेका राजकुमार लेखी पनि नयाँ नै छन् । लेखीसँग यसअघि प्रदेश सरकारको नीति तथा योजना आयोगमा सदस्य भएर काम गरेको अनुभव छ ।

मन्त्री पराजित

विसं २०७४ मा निर्वाचित भइ प्रदेशका महत्वपूणर् मन्त्रालयको जिम्मेवारी सम्हालेका केही मन्त्रीले भने यसपटकको निर्वाचनमा पराजय व्यहोर्नु परेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हुँदै हाल अर्थमन्त्री रहेका शैलेन्द्रप्रसाद साह सप्तरी क्षेत्र नं २ (१) मा पराजित भएका छन् ।

यस्तै पाँच वर्षसम्म भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रहेका योगेन्द्र राय यादव पनि पराजित भएका छन् । उनी रौतहट-१ (२) मा उम्मेदवार थिए । प्रदेश मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर निर्वाचनमा होमिएका दीपेन्द्र झा पनि पराजय व्यहोर्नु परेको छ ।