जलेश्वर । खोप लिनबाट बञ्चित तथा पूणर् खोप लिन नसकेका महोत्तरी जिल्लाको दुई वटा पालिकाका व्यक्तिहरुका लागि कोभिड- १९ को खोप अभियान सञ्चालन गरिएको छ ।

रेडक्रस सोसाईटीका अनुसार जिल्ला स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको समन्वयमा जिल्लाको बलवा नगरपालिका र पिपरा गाउँपालिकामा १२ वर्ष माथिका कोभिड-१९ का खोप लिएका अथवा खोप लिनबाट छुटेका सबै नागरिकका लागि खोप अभियान शुरु गरिएको छ ।

विभिन्न चरणमा जिल्लामा सञ्चालन भएको कोभिड-१९ को खोप अभियान दुबै पालिकामा न्यून व्यक्तिहरुको सहभागिता रहेकोले छुटेका तथा पूणर् खोप बाँकी रहेका सबै व्यक्तिका लागि आजदेखि ५ दिनसम्म दुबै पालिकाका प्रत्येक स्वास्थ्य संस्थामा खोप अभियान सञ्चालन गरिएको छ ।

जिल्लामा यसअघि सञ्चालन भएको खोप अभियानमा जिल्लाको बलवा नगरपालिकामा पहिलो डोज लिने ५८.८ प्रतिशत, पूणर् डोज लिने ६५.२ प्रतिशत र अतिरिक्त डोज मात्र १८.७४ प्रतिशत व्यक्तिले लिएका थिए भने पिपरा गाउँपालिकामा पहिलो डोज लिने ५९.७ प्रतिशत, पूणर् डोज लिने ६६.५ प्रतिशत र अतिरिक्त डोज मात्र २०.७ प्रतिशत व्यक्तिले खोप लिएका थिए ।

जिल्लाका १५ वटा पालिका मध्ये सबै भन्दा कम यी दुबै पालिकाका व्यक्तिहरुले कोभिड खोप लिएका कारण दुबै पालिकामा आजदेखि पाँच दिनसम्मको लागि पुनः कोभिड-१९ को खोप अभियान सञ्चालनमा ल्याइएको छ ।

कोभिड-१९ खोप अभियानको तथ्याँक हेर्दा यहाँ ६८.६ प्रतिशत व्यक्तिले पहिलो डोज, ७५.७ प्रतिशत व्यक्तिले पूणर् खोप र १९.१ प्रतिशत व्यक्तिले अतिरिक्त डोज लगाइसकेका छन् ।