जनकपुरधाम : मधेशी भाषा संस्थागत भएको भन्दै मधेश प्रदेशभरि  दिप प्रज्वलन गरिएको छ ।

प्रतिनिधि सभामा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसहित तीन जना सांसदहरुले मधेशी भाषामा शपथ लिएपछि मधेशी भाषा संस्थागत भएको भन्दै दिप प्रज्वलनसहित खुशियाली मनाइएको छ ।

बिहिबार साँझ धनुषाको लक्ष्मीनियाँ गाउपलिका -१ मा दिप प्रज्वलन कार्यक्रममा जनमत पार्टीका नेता शिव कुमार यादवले आजबाट विश्वमा मधेशी भाषा संस्थागत रुपमा अगाडि बढेको भन्दै खुशी व्यक्त गरे ।

नेता यादवले भने,‘मधेशी भाषा अथवा मध्यदेशीय भाषाको परिकल्पनाकार डा.सीके राउतलाई धन्यवाद दिन चहान्छु । उनले मधेशी भाषाको परिकल्पना गरी मधेशका भाषाहरुलाई संस्थागत गराउनु भयो।’

‘मधेशमा बोलिने सबै भाषा मधेशी भाषा हुन्। यो भाषा मधेशीहरु स्वयम्ले बोल्ने गरेका छन्’, नेता यादवले भने,‘मधेशी भाषा कसैमाथि लादिने भाषा होइन। यो पूर्वदेखि पश्चिमसम्मका मधेशीहरुको भाषा हो।’

मधेशमा विभिन्न भाषाहरु रहेको र कतिपयलाई भाषाबाटै अपहेलित गरिने गरेको सुनाउँदै नेता साहले भने,‘हामी जे बोल्छौं त्यही मधेशी भाषा हो। कसैले तेरो भाषामा यो मिलेन त्यो मिलेन भन्ने कुरा अब रहँदैन।’

कार्यक्रममा गाउँपालिकाका  स्थानीयबासीसहित विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।