जनकपुरधाम । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ। मन्त्रालयले शनिबार एक विज्ञप्ती जारी गर्दै खुला सीमाका कारण संक्रमणको जोखिम रहेकाले सचेत हुन आग्रह गरेको हो।

छिमेकी मुलुकहरुमा फैलिएको नयाँ भेरिएन्ट ‘बिएफ–७’ नेपालमा हालसम्म पुष्टि नभएको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ, ‘खुला सीमाना एवं मानिसहरूको आवतजावतका कारणले नेपालमा पनि यस संक्रमणको जोखिम रहेको हुँदा यसको रोकथाम एवम्‌ नियन्त्रणका लागि आमजनसमुदाय सजग एवं सचेत हुन जरुरी छ।’

मन्त्रालयका अनुसार कोभिडको यो नयाँ भेरियन्टले छोटो समयमा धेरै व्यक्तिहरुलाई संक्रमण गर्ने देखिएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ।

क्रिसमश तथा अंग्रेजी नयाँ वर्ष २०२३ नजिकिँदै गरेको अवस्थामा कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउन जनस्वास्थ्यका मापदण्डहरू नियमित पालना गर्न गराउन तथा कोमिडविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ।