जनकपुरधाम : मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथ ग्रहण शुक्रबार १५ पुसमा हुने भएको छ । प्रदेशसभामा सोमबार बसेको सर्वदलीय बैठकबाट शुक्रबार शपथ ग्रहण कार्यक्रम राख्ने निर्णय गरिएको छ ।

१५ पुस शुक्रबार दिउँसो २ बजे नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ लिने समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले जानकारी दिए ।

संविधानको धारा १८२ को उपधारा (५), प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्य गोबिन्द बहादुर न्यौपानेले गर्नेछन् ।

उनले नै प्रदेशसभा सदस्यहरूलाई शपथ ग्रहण गराउने प्रदेशसभा सचिवालयले जनाएको छ । शपथ ग्रहणका लागि २ घण्टा अगावै निर्वाचित प्रदेशसभा सदस्यहरूलाई राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थिति हुन सचिवालयले आग्रह गरेको छ ।

मातृभाषामा शपथ लिन चाहने प्रदेशसभा सदस्यहरूलाई तीन दिन अगाडि नै प्रदेशसभा सचिवालयमा जानकारी गराउन भनिएको छ ।