जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरका कर्मचारी निवास अनधिकृत रुपमा प्रयोग भइरहेको पाइएको छ ।

अस्पतालबाट सरुवा भइसकेका र सेवा अवधि सकिसकेका पूर्व मेसुदेखि डेढ वर्ष अघि सरुवा भइसकेका कर्मचारीहरूले निवासमाथि कब्जामा राखेका छन्।

अस्पतालले गत मंसिर २८ मा सूचना जारी गर्दै अनधिकृत रुपमा कर्मचारीहरूले प्रयोग गरिरहेका निवासहरू पुस मसान्तभरि खाली गर्न भने पनि अझै खाली गरेका छैनन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति स्तरिय निर्णय अनुसार अस्पताल मातहतको तालिम भवन र कर्मचारी निवास पुस मसान्त भित्र खाली गर्न भनिएको थियो । तर, पुस मसान्त सकिए पनि अझै कर्मचारीहरूले खाली गरेका छैनन् ।

अस्पतालका पूर्व मेसु डा.प्रमोद कुमार यादव गत असारमै सरुवा भएर काठमाण्डु गइसकेका छन् । तर, उनले प्रयोग गर्दै आएका कर्मचारी निवासमा उनका भान्जाहरू बस्दै आएका छन् ।

यस्त, धनुषा निर्वाचन क्षेत्र नम्बर ४ क का सांसद शेष नारायण यादवका श्रीमति प्रेमा ढकाल स्टाफ नर्सको रुपमा अस्पतालमा कार्यरत थिइन् । उनको सेवा अवधि सकिए पनि उनले प्रयोग गर्दै आएको कर्मचारी निवास अझै खाली गरेकी छैनन् ।

यस्तै,स्टाफ नर्स गिता थापाको डेढ वर्ष अघि सरुवा भइसकेको छ । तर, उनले प्रयोग गर्दै आएको कर्मचारी निवास अझै खाली गरेकी छैनन् ।
स्टाफ नर्स निसा थापाको सरुवा भइसकेकी छन् भने अस्पतालकै कर्मचारी सञ्जिता यादवको निवासमा उनको आफन्तले निवास प्रयोग गरिरहेका छन्।

अस्पतालको निवास खाली किन नगरेको विषयमा सम्बन्धित कर्मचारीलाई सम्पर्क गर्न खोज्दा बोल्न मानेनन् । केहीले आफूलाई यस विषयमा जानकारी नै नभएको प्रतिक्रियासमेत दिएका छन्। अस्पतालको विभिन्न भवनमा निवास खाली गराउनेबारे सूचना भने टाँस गरिएका छन् ।

अस्पतालका उप निर्देशक डा.कृष्ण देव दासले अनधिकृत रुपमा प्रयोग गर्दै आएको कर्मचारी निवास खाली नगर्नेलाई कारबाही गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।

उनले एक महिना अघि सूचना जारी गरिएको हुँदा अटेरी गर्नेलाई नियमानुसार कारबाहीको प्रक्रिया अघि बढाइने बताए । हालसम्म अस्पतालले नै कर्मचारी निवासको बिजुली र पानीको खर्च व्यहोर्दै आएकोमा अबदेखि निवासमा बस्ने कर्मचारी स्वयंले खर्च व्यहोर्नुपर्ने नियम लागु गरिएको पनि उप निर्देशक डा. दासले जनाएका छन् ।